जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

राँझा (बाँके), २६ असोज ः रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ ।

नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली दाजुभाइ जमुनाहनाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको जमुनाह इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले जानकारी दिनुभयो ।

“केही दिनयता भारतमा काम गरी घर फर्किने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ”, उहाँले भन्नुभयो, “बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म जुमनाहनाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।”

जमुनाह नाकामा भेटिनुभएका जाजरकोट बारेकोट गाउँपालिकाका भीमबहादुर गिरीले भारतको सिमलामा रोजगारी गरेर दसैँ मनाउन घर फर्किएको बताउनुभयो । गत वर्ष दसैँ–तिहार मनाएर मङ्सिरमा रोजगारीका लागि सिमला पुग्नुभएका उहाँले घरपरिवारलाई लत्ताकपडा र दसैँ खर्च लिएर घर फर्किएको जानकारी दिनुुभयो । धेरै रुपैयाँ कमाउन नसके पनि जसोतसो खर्चको जोहो गरेको गिरीको भनाइ थियो ।

दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमाननाका जमुनाहमा लर्को लाग्ने गर्दछ । सल्यानको शारदा नगरपालिकाको हिउल्चा गाउँका भरत विकले वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताउनुभयो । भरतकै सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाटका घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतबाट घर फर्किने नेपालीलाई लक्ष्य गरी जमुनाहनाकामा नेपाल प्रहरीले नागरिक सहायताकक्ष स्थापना गरेर काम गरिरहेको छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।