पूर्व गाउँपालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त

अन्नपूर्ण (कास्की), २९ असोज ः बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थाल्नुभएको हो ।

उहाँले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्नुहुन्थ्यो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभयो ।

यसलगत्तै उहाँ सबै काम छाडेर गाउँलेको सेवामा लाग्नुभयो । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गर्नुभयो । जनप्रतिनिधि भएर काम गर्दा उहाँले च्याङ्ग्रा व्यापार धेरै सम्झनुभयो ।

गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उहाँलाई फेरी जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । “पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो”, उहाँले भन्नुभयो, “पार्टीले टिकट दिएन् अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालन तिर लागे ।”

उहाँलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उहाँको सिद्धान्त छ । “म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु”, उहाँले भन्नुभयो, “काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।”

धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिनुहुन्छ । उहाँ दसैँका लागि एक सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आउनुभएको हो । “दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ”, उहाँले भन्नुभयो, “मैले ल्याएको एक सय २७ च्याङ्ग्रामध्ये आफैँले पालेको ८० वटा छ । अरु गाउँलेसँग किनेर ल्याएको छु ।”

सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उहाँको योजना छ । “सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ”, उहाँले भन्नुभयो, “अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ ।” उहाँले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य रु २५ हजारदेखि ५० हजारसम्म मूल्य तोक्नुभएको छ ।

उहाँले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्नुहुन्छ । यो व्यापारबाट उहाँले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । “गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरुको सेवा पनि गरे”, उहाँले भन्नुभयो, “अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुख नै छ । मलाई जनप्रतिनिधि हँुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ ।” अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने उहाँ पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा हुनुहुन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।