भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित

ढोरपाटन (बागलुङ), २९ असोज : रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उहाँलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उहाँ बागलुङको गलकोट आई पुग्नुभएको थियो ।

हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताउनुभयो । व्यापारमा निस्केको दुई हप्तामा उहाँले नौवटा मात्रै भेडा व्यापार गर्नुभयो । एक सय ५० भेडा लिएर बजार आउनुभएका बुढा मगर व्यापार नभएपछि चिन्तित हुनुभएको हो । परिवार र दसैँ खर्च चलाउनका लागि यो सिजनमा बजार झर्नु भएका उहाँ व्यापार नहुँदा घर खर्च कसरी चलाउने भन्ने पीरले सताइरहेको छ ।

अघिल्लो वर्षको तुनामा यस वर्ष भेडाको मूल्य केही बढेको छ । बुढा मगरले साबिककै मूल्यमा बिक्री गर्दा पनि भेडा व्यापार निकै कम भएको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्षहरुमा घटस्थापनाको दिनसम्म बजार ल्याएका आधाभन्दा बढी व्यापार हुने गरेकामा यस पटक निकै कम भएका छन् ।

हरेक वर्ष पर्वतको कुश्मा र डिमुवासम्म पुगेर फर्किने गरेको भन्दै यस वर्ष व्यापार नहुँदा पोखरासम्म पुग्ने योजना रहेको बुढा मगरले बताउनुभयो । मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आउनुभएका तिलुलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ । वर्षभरि लेकबेँसी गरेर उत्पादन गरेको भेडाले बजार नपाउँदा निकै दुःख लागेको उहाँले बताउनुभयो ।

पोहोर साल एउटा भेडालाई रू २८ हजारदेखि ४८ हजारसम्म पार्ने गरेको भन्दै यस वर्ष रू ५२ हजारसम्म पुगेको मगरको भनाइ थियो । पाहोर सालकै मूल्यमा व्यापार नभएपछि केही रकम घटाएर बिक्री गर्नु परेको उहाँले बताउनुभयो । पहिले–पहिले बाटोमा भेडा आए भने व्यापारी बथानमै छिरेर मन परेको भेडा किन्ने गरेका भन्दै यसपालि घरै अगाडि लगेर किन्न आग्रह गर्दा पनि व्यापार नभएको तिलुले गुनासो गर्नुभयो । पहिलेको तुलनामा यस वर्ष बजार पनि सुनसान पाएको उहाँले बताउनुभयो ।

“यसपालि दसैँ ढिला आयो । ७ गतेको दिन टीका रैछ, ५ गते त घर फर्किसक्नुपर्छ । मेरो अरू केही व्यवसाय छैन । वर्षभरि यिनै भेडा पाल्छु । दसैँ त हामीजस्ता गोठालाको लागि व्यापार गर्ने ठूलो पर्व जस्तै हो । तर यस वर्ष पहिलाको जस्तो व्यापार भएन् । धेरैले पैसा छैन भेडा राख्न सकिँदैन भन्छन्”, बुढा मगरले भन्नुभयो, “बजारमा पहिलेको जस्तो चहलपहल पनि देखिएन । किन हो खै ? आर्थिक मन्दी भन्छन् । मैले भेडा पाल्न थालेको ३७/३८ वर्ष भयो अहिलेसम्म यस्तो अवस्था कहिले पनि आएको थिएन ।”

उहाँले रू २८ हजार पर्नेलाई रू २३ हजार र रू ५२ हजार पर्ने भेडालाई रू ४०/४५ हजारमा दिँदा पनि कसैले किन्न नमानेको गुनासो पोख्नुभयो । भेडा व्यापार नभएपछि परिवार चलाउनै समस्या हुने उमगरको भनाइ छ । ५ गतेसम्म व्यापार नभए गाडीमा हालेर गाउँ फर्किने योजना रहेको उहाँले सुनाउनुभयो ।

बुढा मगरको जस्तै मुस्ताङबाट आउने भेडाच्याङ्ग्रा पनि अघिल्लो वर्षको तुलनामा कम बिक्री भएको व्यापारीहरुले बताउने गरेका छन् । उपल्लो मुस्ताङदेखि भेडाच्याङ्ग्रा लिएर आउनुभएका प्रकाश गुरुङले यस वर्ष निकै कम व्यापार भएको बताउनुभयो । असोज पहिलो साता नै भेडाच्याङ्ग्रा खरिदका लागि मुस्ताङ पुगेको पाँच सयको हाराहारीमा ल्याए पनि अहिलेसम्म ७० वटा मात्रै बिक्री भएको उहाँको भनाइ थियो ।

बागलुङ, पर्वत, पोखरा, तनहुँ हुँदै काठमाडाैँसम्म पुर्‍याउने योजना रहेको भन्दै आर्थिक मन्दीले व्यापार कम भएको गुरुङले बताउनुभयो । अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी भेडाच्याङ्ग्रा बजार ल्याउने गरेकामा यस वर्ष घटाएको उहाँले सुनाउनुभयो ।

“बजारमा सबै सामान महँगिएर आकाशिएको छ । भेडाच्याङ्ग्राको मूल्य पनि स्वाभाविक रुपमा बढ्ने नै भयो । पहिलेपहिले जति राम्रो व्यापार हुन्थ्यो अहिले छैन”, गुरुङले भन्नुभयो, “यसले गर्दा हामी जस्ता व्यापारी मर्कामा परेका छौँ । गोठमै पुगेर खरिद गरी ल्याउने गरेकामा अहिले किसानले गोठमै महँगोमा बेच्नु हुन्छ । हामीहरुले बजारसम्म ल्याउँदा थोरैमात्र नाफा राखेर बेच्दा पनि बिक्री गर्न मुस्किल पर्छ ।”

स्थानीय प्रेमप्रसाद शर्माले बजारमा अन्य सामान बिक्री नहुँदा यस वर्ष भेडाच्याङ्ग्रा किनेर दसैँ बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो । पहिलेको तुलनामा बजारमा हुने खाद्यान्न तथा फेन्सी सामानको मूल्य आकाशिएको र व्यापार कम हुँदा पोहोरपरार सालको जस्तो हर्षोल्लास नभएको उहाँको भनाइ थियो । महँगी र घट्दो व्यापारका कारण सामान्य परिवारले भेडाच्याङ्ग्रा किनेर दसैँ मनाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

“तीन/चार वर्षअगाडि त बजारमा किनेमेल गर्ने मान्छेको भीड हुन्थ्यो । अहिले बजार सुनसान छ । बजारका सामान व्यापार भए पो किसानका भेडाच्याङ्ग्रा व्यापार हुन्छन्”, शर्माले भन्नुभयो, “बजार सुनसान भएपछि कसरी भेडच्याङ्गा किनमेल हुन्छ?, आर्थिक मन्दीले धेरैतिर समस्या पुर्‍याएको छ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।