रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

डम्मर बुढा मगर/ढोरपाटन (बागलुङ), २ कात्तिक : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।

रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन् । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्यो । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर विस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन् । यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ ।

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए । अहिले सडक नपुगेको गाउँ छैन । गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन् । इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बूढापाका चिन्तित बनेका छन् । जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन् । बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ । स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताउनुभयो । देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । पहिले–पहिले गाउँका घर बलियो बनाउनका लागि हरेक दिन गाईको गोबर र रातोमाटोले लिप्ने गरे पनि अहिले त्यो चलन हराएको बताउनुहुन्छ ।

“आजभोलिको दसैँ पहिलेको जस्तो रमाइलो नै हुँदैन, हाम्रो पालामा नवदुर्गा सुरु भएपछि गाउँमा निकै चहलपहल हुन्थ्यो, रातोमाटो र कमेरोले घर लिप्ने गरिन्थ्यो, घरलाई झकिझकाउ बनाउन, टाढा–टाढा पुगेर रातोमाटो, कमेरो ल्याइन्थ्यो, बर्खाले बिगारेको बाटाघाटा झारा गरेर मर्मत गर्ने गरिन्थ्यो, तर अहिले त्यो चलन पूरै हरायो”, खत्रीले भन्नुभयो, “आजकाल त बजारबाट रङ किनेर ल्याएर घरमा लगाउने गर्छन्, अहिलेको रङभन्दा उतिबेलाको माटो र गोबरले लिप्दा घर बलियो हुन्थ्यो, मान्छेले आफ्नो परम्परा बिर्सिए, अरुको संस्कार सिके ।”

बागलुङको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनार रातोमाटो र कमेरो बिक्री हुन छोडेको बताउनुहुन्छ । वर्षौंदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरेको उल्लेख गर्दै उहाँले गाउँ–गाउँमा पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताउनुभयो । पहिले दसैँको १५ दिन अगाडिदेखि आफूलाई स्थानीयको घरघरमा माटो र कमेरो पु¥याउन भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले एक डोको मोटो बेच्न पनि गाह्रो पर्ने सुनाउनुभयो । माटो बेचेर मासिक रु १० हजार कमाएको सुनाउने सुनारले अहिले अर्मपर्म गरेर दैनिकी चलाउनुपरेको बताउनुहुन्छ ।

“घर माटोले पोत्ने चलन हरायो, गाउँका कच्ची घरमा पनि बजारबाट रातो रङ लिएर लगाउन थालेका छन्, पहिले मैले एकै दिनमा १७÷१८ घरमा माटो पु¥याउने गर्थे, अहिले दुई÷तीन घरबाट पनि माग आउँदैन, अहिलेत सबैका घरमा सिमेन्ट लगाएका छन्, टिन (जस्तापाता)ले छाएका छन्”, सुनारले भन्नुभयो, “दसैँ आएको छ, माटो कसैले किन्दैनन्, कहिँबाट पैसा पनि आउँदैन, पहिले त पैसा हुनेले पैसा, नहुँनेले धान, मकै, मिठो दिन्थे, परिवार पाल्न सजिलो थियो, अहिले त अरु काम गर्नुपर्छ ।”

स्थानीय मीनकुमारी पौडेलले पहिले दसैँ तिहारको बेला धेरै महिला माटो बिक्री गर्न घरघरमा पुग्ने गरेको सुनाउँदै अहिले कोही पनि नहिँड्ने बताउनुभयो । दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको बताउनुभयो । घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्ग्याउने गरेको बताउनुभयो ।

नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको पौडेलको भनाइ छ । पहिले विद्यालयका भवन पनि माटो र काठेले बनेको हुँदा दसैँका बेला माटो र कमिरोको माग निकै हुने गरेकोमा अहिले सबै भवनहरु पक्की बनेकाले त्यसको आवश्यक नपर्ने उहाँ बताउनुहुन्छ ।

पौडेलले भन्नुभयो, “घरभन्दा परको हाम्रो बारीमा सेतो कमेरो पाइन्थ्यो, दसैँका बेला त्यहाँ ठूलो भीड हुन्थ्यो, एक बोरा कमेरो ल्याउन मान्छेले घण्टौँ कुर्नुपथ्र्यो, तर अहिले त्यो ठाउँ पुरौँ झारपातले पुरिएको छ, धेरै वर्ष भयो, यहाँ कोही पनि कमेरो ल्याउन आएका छैनन्, त्यस बेला त स्कुलमा पनि कमेरो लगाउने चलन थियो, विद्यार्थी लाइन लगाएर आउँथे, रमाइलो पनि हुन्थ्यो । तर अहिले विद्यालय पनि सिमेन्टबाट बनेका छन्, त्यही भएर माटो कमेरो चाहिँदैन ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।