चाडपर्वमा हराउँदै लोक परम्परा : न ‘झिझिया नृत्य’ न ‘दसैँके ढोल’

गोपालप्रसाद बराल /महोत्तरी, २ कात्तिक : यसपालिको दशहारा (दसैँ) पर्व नजिकिंदै गर्दा पनि तराई-मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन । दशहारा पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती/बस्तीमा बज्ने ‘ढोल’ अब मधेशको प्राचीन मिथिलामा हराएको छ ।

नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन, सुनिन छाडेका छन् । घटस्थापनाका दिनदेखि नै बज्ने ढोल र बस्तीबस्तीमा गाइने÷नाचिने झिझिया देख्न, सुन्न छाडिएको हो । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडा दसैं पर्वका पुराना लोकपरम्परा केही वर्षयता हराउँदै गएका हुन् ।

दशहारा सुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती/बस्तीमा गरिने झिंझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएको हो । ढोल बज्न छाडेर बस्तीबस्तीमा झिझिया पनि हराउँदै गएपछि पाका पुस्ताका मैथिललाई दशहारा आएजस्तो लागेको छैन । “कहुँ ढोल बजल नई सुनैछी, न झिझिया नाच कतो दिखाइय” (कतै ढोल बजेको सुनिदैन, न झिझिया नाच नै देखिन्छ) महोत्तरीको भङ्गाहा नगरपालिका–५ धतियाटोल सीतापुरका ८० वर्षीय झौली भण्डारी माली भन्नुहुन्छ, “दशहारा पावैन आयल बुझाइए न रहल अई” (दसैं पर्व लागेजस्तो नै बुझिन्न) । बस्तीमा ढोल नबजेको र राती झिझियाको लय सुन्न नपाइएपछि दसैं लागेको भनक नै नपाइएको भण्डारीको भनाइ छ ।

महोत्तरीसहितका मिथिलामा दसैं पर्वको नवरात्र सुरु भएसँगै बस्तीका घर÷घरैजसो ‘दसैंके ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राती महिलाले सामुहिक रुपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि भण्डारीजस्तै यस भेगका सर्वसाधारणले चिन्ता जनाएका छन् । “बौवा, पुरान परम्परा सब हेराय लागल, चिन्ता लगैय जे आब हमर कि पहिचान रहत ?” (बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ?) । जिल्लाको सदरमुकामसमेत रहेको महोत्तरीकै जलेश्वर नगरपालिका–५ चौडिया बस्तीका ७५ वर्षीय रहिमन मण्डलले मैथिलीमा भन्नुभयो ।

दसैं पर्वको घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दसैंके ढोल’ भनेर कराउँदै हिंड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथा जस्तै भएको बुढापाका बताउँछन् । लोक परम्पराका ‘ढोल’ र ‘झिझिया’ नबज्दा, नगाइँदा दसैं लाग्यो, दसैंैं आयो भन्ने लाग्ने नगरेको पाका मैथिल बताउँछन् ।

त्यसैगरी नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाहरुको समूह पनि अब देखिन छाडेको छ । ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा…!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर दसैंैंमा मिथिलानीहरुले सुरिलो भाखामा गाउँदै फनफनी आपूmलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बुढापाका मैथिलको चिन्ता बढेको हो ।

पछिल्ला केही वर्षयता लोकपरम्पराको ‘झिझिया’ नृत्य गैरसरकारी सङ्घसंस्थाका कार्यक्रम भने बनेका देखिन्छन् । तिनै सङ्घसंस्थाको मञ्चमा हुने कार्यक्रमलाई अचेल हामीले ‘मिथिलामा झिझियाको रौनक’ शिर्षक दिएर ठूलठूला अक्षरमा सञ्चारमाध्यममा पस्कने गरेका भङ्गाहा–४ रामनगरका बासिन्दा सञ्चारकर्मी (पत्रकार) रामईश्वर ठाकुर बताउनुहुन्छ ।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैंको ढोल बज्न छाडेको हो । “कि करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा÷पोता ढोल बजाव नइ चाहैय, कि करु ?”(के गरौं हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाहँदैनन्, के गरौ ?) भङ्गाहा–५ धतियाटोलकै ७५ वर्षीय अच्छेलाल महरा (चमार समुदायका अगुवा) बताउनुहुन्छ । दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब राष्ट्र जान थालेपछि पुख्र्यौली रितिथिति र पेशा थाम्ने कुरा ओझलिएको चमार जातिका पाका उमेरका अगुवा बताउँछन् ।

त्यसैगरी असुर प्रवृतिविरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैं पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । ‘‘दसैं लागेपछि प्रत्येक रात बस्तीका महिलाहरु सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ” महोत्तरी जिल्लाकै भारतीय सीमावत्र्ती मटिहानी–७ का सामाजिक कार्यकर्ता रामकुमार मण्डलले भन्नुभयो ।

पछिल्ला केही वर्षयता गाउँ÷नगर बस्तीमा डिस्को बाजासँगै कर्कस स्वरमा बजाउन थालिएको गीत र त्यसको तालमा उफ्रदै नाच्ने जमातप्रति मण्डलको चित्त दुखाइ छ । “हाम्रो आफ्नै परम्परामा मनोरञ्जनका साधन र विधि छन्, हाँस्न, खेल्न तिनको अनुशरण गरे त भयो नि !” मण्डलले भन्नुभयो, “तर अब हाम्रा मनोरञ्जनका विधि सबै छोडिदै गएका छन् ।”

दसैं लागेपछि अघि सत्य युगमा देवी दुर्गाबाट पराजित भएका दुष्टात्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुखः दिन सक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीहरुले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिन्छ ।

असङ्ख्य ससाना प्वाल पारिएको माटोको गाग्रो (घैंटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन् । “हुन त यो अन्धविश्वासको परम्परा हो” भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिदेवी सिंह थारु भन्नुहुन्छ, “तर मिथिला संस्कृतिको अभिन्न अङ्ग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ ।” तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनि सकेको उपप्रमुख थारुको थप भनाइ छ ।

मिथिलामा हराउँदै गएको यो संस्कृतिलाई केही वर्षयता गैरसरकारी सामाजिक सङ्घसंस्थाहरुले यदाकदा देखाउने गरेका भएपनि जनमनबाट भने हराउँदै गएको यहाँका बुद्धिजीवीको भनाइ छ । “यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो” महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण बिद्यापिठका उपप्राध्यापक मनोज झा मुक्तिले भन्नुभयो, “गैरसरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो थेगिदैन, जनमनले नै थेग्नुपर्छ ।” मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिएको झिझिया गीतको नृत्यलाई जिवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउन झासहितका बुद्धिजीवीको सुझाव छ ।

अब झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिष्कृत गर्न पर्ने अगुवा मिथिलानी बताउँछन् । यस्तो गर्न सकिएमा लोकपरम्पराको जगेर्ना र वर्तमान आवश्यकताको कुरा व्यक्त हुनसक्ने भङ्गाहा–३ कटैयाकी रामराजी यादवको भनाइ छ । “नयाँ पुस्ताका युवा छोरी–चेलीहरु वास्ता देखाउँदैनन्’ यादवले भन्नुभयो–, ‘अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथा जस्तो गरी सुनाउने स्थिति भइसक्यो, यो अवस्था अन्त्यका लागि हामीले नै पहलकदमी लिनपर्छ ।”

‘चलचल गे डैनिया कदम तर तोरा बेटाके खैबौ बरमतर’ (अरे दुष्टात्मा तँ अगाडि कदमको रुखतिर त बढ, तेरो छोरालाई त्यहीं ब्रह्मस्थान नजिक हामी खानेछौं) दुष्टआत्माकी भनिएकी कथित बोक्सीलाई सतोसराप गर्दै गाइने यी गीत र यसको तालमा नाचिने झिझिया नृत्यलाई यसैको ताल र लयमा नयाँ परिवेशसँग मिलाएर अघि बढ्न पर्ने आवश्यकता अब औंल्याउन थालिएको छ । “अब डायनी, बोक्सी भनेर गाली गरिने यी गीतको भावमा अधिकार प्राप्तिका लागि सचेतता बढाउँने, रुढी परम्पराको ठाउँमा समानता र न्यायका पक्षका लडाँइका भाव मिलाउनु पर्छ” बर्दिवास–१२ बिजलपुराकी महिला नेतृ गीतादेबी महतो भन्नुहुन्छ, “झिझियालाई यसरी परिष्कृत गर्दै अघि बढे यसलाई मुलुकको समानता र न्यायको आन्दोलनकै अङ्ग बनाउन सकिनेछ ।”

झिझिया गीतमा देवी दुर्गाको प्राथना, बोक्सी भनिने दुष्टआत्मालाई गाली र सन्तानको कल्याण र दीर्घायुको कामनाको भाव हुन्छ । गीतको तालमा असङख्य प्वालैप्वाल भएको घैंटो टाउकामा राखेर नाच्ने महिलाको नृत्यताल मनमोहक हुने गर्छ । भित्र बत्ती बालिएको सो घैंटोमा पारिएका प्वाल दुष्टआत्माले गन्यो भने नाच्नेको मृत्यु हुने भनाइ रहेकाले नाच्ने महिला फनफनी नाचेर प्वाल गन्न नसकिने अवस्था बनाउँछन् । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिने यो परम्परा अब लोप हुने अवस्थामा पुगेको हो ।

पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नु पर्नेमा पाका मैथिल पनि सहमत देखिन्छन् । यो अभिभारा नयाँ पुस्ताले उठाउन पर्ने पाका मैथिलको सुझाव छ । दसैं पर्वको मैथिल लोकपरम्पराको ‘ढोल’ र ‘झिझिया’ जिवन्त राख्न नयाँ पुस्ताको चासोबिना सम्भव नहुने मैथिल बुद्धिजीवी बताउँछन् । “यो परम्परा धान्दै आएका पुरानो पुस्ताका हरु अब शरीरले नै लाचार भए, उनीहरुले चाहेर पनि गर्न सक्दैनन्” राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला (बर्दिबास–९) का प्रधानाध्यापक हरिदेव महतो भन्नुहुन्छ, “हाम्रा विशिष्टता झल्काउने रितिथिति, परम्परा थेग्न, त्यसलाई प्रबद्र्धन गर्न नयाँ पुस्ताको चासो आवश्यक भएको हो ।” यसरी यी परम्परा जोगाई राख्न तीभित्रका जडतालाई परिष्कृत गर्दै समयअनुसारको भाव जोड्नसके यो बचाउन सकिने महतोको राय छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।