डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

ढोरपाटन (बागलुङ), ३ कात्तिक ः केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो । दसैँ सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे । तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन् । दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ बिना दसैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ ।

बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको बताउनुभयो । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोली गाउँमा पिङ हाल्न छोडिएको थापाले बताउनुभयो । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताउनुहुन्छ । पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उहाँको भनाइ छ । थापाले दसैँ आउनुभन्दा एक साता पहिलेनै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो ।

“हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, हामीहरु बुढो भइयो, बाब्बो (बाबियो) को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन, हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन”, उहाँले भन्नुभयो, “समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, पाँच÷छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो, अहिले कतै बनाउँदैनन् ।”

गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताउनुभयो । दसैँका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उहाँको भनाइ छ । पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउनुहुन्छ । आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गरेको सुनाउनुभयो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उहाँको भनाइ छ ।

“दसैँ आयो, तर पिङ बिनाको दसैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच÷छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्”, उहाँले भन्नुभयो ।

केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरुप बनाएको बताउनुभयो । अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उहाँको भनाइ छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।