ज्येष्ठ नागिरकले वडाध्यक्षको पारिश्रमिक पाउँदा…..

शेरबहादुर सिंह ,महेन्द्रनगर (कञ्चनपुर) ः बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को वडा कार्यालयमा ज्येष्ठ नागरिक भरिभराउ थिए । सत्तरी वर्षदेखि शतक पुगेका वृद्धवृद्धा कुनै सामाजिक या अन्य कुनै भत्ता बुझ्न भने पक्कै होइनन् । उहाँहरूसँगै वडाले बनाएको मापदण्डअनुसार पूर्ण अपाङ्गता भएका २० जना स्थानीयसमेत वडा कार्यालयमा जम्मा भएका थिए । यसरी वडा कार्यालयमा जम्मा हुनुको कारण थियो, वडाध्यक्ष आसेफ कुवँर (भुन्टू)को मनकारी निर्णय ।

विसं २०७४ मा वडाध्यक्षमा पहिलोपटक निर्वाचनमा होमिनुअघि नै आफूले वडाबाट पाउने पारिश्रमिकलगायत अन्य सुविधा वडामै खर्चिने घोषणा गर्नुभएका कुवँरले निर्वाचन दोस्रोपटक जितेयता ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिक खर्चका लागि पारिश्रमिक रकम वितरण गर्दै आउनुभएको छ ।

यसका लागि वडाका एक सय ४१ ज्येष्ठ नागरिक र २० जना पूर्ण अपाङ्गता भएका व्यक्ति आज वडा कार्यालयमा जम्मा भएका हुन् । वडाध्यक्ष कुँवरले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले सहयोग वितरण गर्नुभएको छ । आफूले वार्षिकरूपमा पाएको रु दुई लाख ४१ हजार पाँच सय नगद रकम वडामा वितरण गरेको उहाँले जानकारी दिनुभयो । “निर्वाचनअघि घोषणा गरेयता विगत छ वर्षदेखि निरन्तर पारिश्रमिक बस्तीमै वितरण गर्दै आएको छु”, वडाध्यक्ष कुँवरले भन्नुभयो, “यो एउटा सानो कामले वडाका ज्येष्ठ नागरिकमा खुसीयाली नै पाएका छौँ ।”

त्यसैगरी वडाध्यक्षले वितरण गरेको रकम लिँदै वडाका एक सय वर्षीय गम्भीरसिंह चैसिरले खुसी व्यक्त गर्नुभयो । “रकम कति दिए ठूलो कुरो नहुन सक्छ”, चैसिरले भन्नुभयो, “हामी पनि हाम्रो वडाध्यक्ष जत्तिको मनकारी जनप्रतिनिधि पाएकामा गर्व गर्छौँ ।” उहाँले वडाभरिका ज्येष्ठ नागरिक वडाध्यक्षको कामप्रति सन्तुष्ट रहेको बताउनुभयो । वडामा रकम वितरण गरिरहँदा ज्येष्ठ नागरिकले खुसीका आँशुमात्रै झारेनन् । वडाध्यक्ष कुँवरलाई फूलमालाले स्वागत गर्दै आशीर्वाद पनि दिइरहनुभयो । अठासी स्थानीय तह रहेको सुदूरपश्चिममा पहिलोपटक आफूले पाएको पारिश्रमिक वडाकै नागरिकलाई वितरण गर्दै आएका कुवँरले अहिले मासिक रु २२ हजार पारिश्रमिक पाउने गरेको बताउनुभयो ।

“सुरुमा रकम वितरण गर्दा मासिक पारिश्रमिक रु १७ हजार हाराहारी थियो”, उहाँले भन्नुभयो, “छ वर्षपछि आइपुग्दा रु २२ हजार पुगेको छ ।” उहाँले ज्येष्ठ नागरिकको साथ र सहयोगले नै आफू दोस्रोपटक वडामा भारी मतान्तरले विजयी भएको बताउनुभयो । “वडाको सम्रग विकास र बजेट ल्याउने विषयमा पनि केन्द्रसम्म पहल गर्दै आएको छु”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिले जनताको सेवा गर्ने हो, सुविधा लिने होइन ।” उहाँले दोसो कार्यकालसम्म आइपुग्दा वडामा रु १२ लाखभन्दा बढी रकम वितरण गरिसकेको बताउनुभयो ।

“रकम लिन छुटेकालाई घरमै गएर पनि वितरण गर्छु”, उहाँले भन्नुभयो, “वडाध्यक्ष रहँदासम्म पारिश्रमिक लिन्न ।” दसैँको मुखमा वडाध्यक्षबाट नयाँ नोट पाएपछि हर्षित देखिनुभएका वडाका ९८ वर्षीया पार्वतीदेवी पाण्डेयले वडाध्यक्ष कुँवरले गरेको असल काम अरु जनप्रतिनिधिले पनि सिक्नुपर्ने बताउनुभयो । “हरेक वर्ष वडाध्यक्ष बाबुले दिएको रकमले सामान्य फलफूल खर्च भएपनि चलेको छ”, उहाँले भन्नुभयो, “सामान्य औषधिमुलो पनि यहाँबाट चल्दा खुसी नहुने को होला र ?”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।