दसैँको रौनकले छोएन मजदुरलाई

ढोरपाटन (बागलुङ), ४ कात्तिक : गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ ।

“यसपाली दसैँ यतै बित्ने भयो”, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भन्नुभयो, “पैसा नभइ दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उहाँको भनाइ छ ।

मिनालगायतका धेरै मुजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन् । गाउँ घरमा दसैँ छाए पनि उहाँहरु भने काम कसरी सक्ने भन्नेमै हुनुहुन्छ । केही मजदुर भने कात्तिक छ गतेसम्म काम गरी दसैँ मनाउन घर जाने योजनामा पनि छन् । “यहाँ काम गर्ने धेरै साथीहरु दसैँका लाग घर गइसक्नु भयो, केही काममै व्यस्त छौँ । मेरा लागि यसपाली घर जाने वातावरण बनेन”, मिनाले भन्नुभयो ।

पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले भने खासै नभएको उहाँको भनाइ छ । “पहिले त बालुवा बिक्री राम्रो थियो । दिनमा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले त्यस्तो राम्रो कमाइ छैन”, उहाँले सुनाउनुभयो ।

काली किनारमै बालुवा चाल्ने बिमल सुनारले यसपाली आफूलाई दसैँले नछोएको बताउनुभयो । “दसैँमा गाउँ जाने रहर थियो तर खर्च नै बढी हुने भएपछि घर गइन”, उहाँले भन्नुभयो, “बिरामी भएर अस्पताल बस्दा लागेको रु पाँच लाख ऋण तिरिसकेको छैन, ऋण नतिरी कसरी घर जानु ?”

मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ । “दसैँमा भने जस्तो खर्चको जोहो भएन, तिहारसम्म केही बचत भए घर जाने विचारमा छु, यसपालीको दसैँ यतै मनाइने भइयो”, उहाँले भन्नुभयो । डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समय अघि मात्रै उहाँ यहाँ आइपुग्नुभएको हो । “भारतमा राम्रो कमाइ नभएपछि यहाँ आएको हुँ, यहाँ पनि भने जस्तो कमाइ छैन, आम्दानी नभइ घर कसरी जानु ?”, उहाँले भन्नुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।