च्याङ्ग्रादेखि खसी लिने सम्मको भीड

भक्तपुर, ४ कात्तिक : भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँ, काभ्रपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ । आज फूलपातीका दिन सवारी साधनमा बलि दिनका लागि बोका लिन आउने र दसैँका लागि आवश्यक मासुका लागि च्याङ्ग्रादेखि खसी लिन आउनेको भीड लागेको छ ।

दसैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य बढेपछि च्याङ्ग्राको बिक्री कम भएको छ । यहाँ चीनबाट ल्याइएको चिनियाँ च्याङ्ग्राभन्दा नेपालका च्याङ्ग्रा प्रतिकिलो रु तीन सय ५० सस्तोमा बिक्री भइरहेको छ । व्यापारी उद्धव खड्काले बझाङबाट ल्याएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सय ५० मा बिक्री भइरहेको जानकारी दिनुभयो ।

यो मूल्य गत वर्षको भन्दा केही बढी हो । यहाँका व्यापारीले २०७८ सालमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु आठ सय र २०७९ सालमा प्र्रतिकिलो रु एक हजार तीन सयमा बिक्री गरेको र यस वर्ष रु एक हजार तीन सय ५० मूल्य राखेर बिक्री गरेका छन् ।

च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङको घारमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले मूल्य बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभई प्रतिगोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिर्नु परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।”

अर्का व्यापारी रमेश खड्काले मुस्ताङमा चिनियाँ व्यापारीसँग सानो च्याङ्ग्रा प्रतिगोटा रु ३५ हजार र ठूलो च्याङ्ग्रा रु ४० हजारमा खरिद गरेर ल्याएको जानकारी दिँदै किलोमा बिक्री गर्दा महँगो हुन गएको बताउनुभयो । भेडा भने प्रतिकिलो रु आठ सयमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडाच्याङ्ग्राको परीक्षण गरेर ल्याए पनि बीचबीचमा प्रहरीले दुःख दिने गरेको गुनासो गर्नुभयो । उहाँले बाटोमा प्रहरीले विभिन्न बहानामा दुःख दिने, पैसा माग्ने, दसैँ खर्चदेखि मोबाइल रिचार्जसमेत गर्न लगाएको उहाँले गुनासो गर्नुभयो ।

अर्का व्यापारी शङ्कर श्रेष्ठले भने प्रहरीले मात्रै नभई पालिकाहरुले समेत व्यापारीलाई दोब्बर कर तिराएर दुःख दिने गरेको सुनाउनुभयो । श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य परीक्षण गरेर भेटेरिनरीको बिल ल्याए पनि बीचबीचमा बाटोमा प्रहरीले भेटरिनरीको बिलमा विभिन्न प्रश्न उठाएर दुःख दिने गरेका छन्, भेटरिनरीको बिल काटेको ७२ घण्टापछि किन नल्याएको भन्छन्, रु एक हजारदेखि रु दुई हजारसम्म जरिवानाको नाममा रकम तिर्नु परेको छ ।”

व्यापारी श्रेष्ठले मुस्ताङमा निकासी कर तिरेर ल्याउँदा पनि र बाटोको विभिन्न ठाउँमा निकासी कर भनेर ठाउँठाउँमा पालिकाहरुले फेरि पनि कर भनेर रकम लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले ढुवानी गाडीमा किन भेडाच्याङ्ग्रा ल्याएको भन्दै ठाउँठाउँमा दुःख दियो, एउटै च्याङ्ग्राको पनि ठाउँठाउँमा कर तिर्नुपर्ने, ढुवानी गाडीमा च्याङ्ग्रा ल्याउन पाइँदैन भन्ने च्याङ्ग्रा बोक्ने सवारी साधन कस्तो हुन्छ प्रहरीले भनिदिनु पर्‍यो ।”

च्याङ्ग्रा तयारी मासुको मूल्य पनि यस वर्ष निकै बढाएका छन् । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार आठ सयमा व्यापारीले बिक्री गरेको छन् । २०७८ सालमा च्याङ्ग्राको तयारी मासु प्रतिकिलो रु एक हजार सात सय र २०७९ सालमा रु दुई हजार ६ सयमा बिक्री गरेको मासु यस वर्ष रु दुई हजार आठ सयमा बिक्री गरेको व्यापारीहरुले बताएका छन् ।

सल्लाघारीमा खसी भने व्यापारीले प्रतिकिलो रु ६ सय ८० देखि ६ सय ९० सम्ममा बिक्री गरेको छन् । यहाँ करिब दुई हजारवटा खसी ल्याएकामा व्यापारीले रु ६ सय ८० भन्दा कम मूल्यमा बिक्री नगरेको बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।