अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

नारायणप्रसाद घिमिरे/रामपुर (ओखलढुङ्गा), ७ कात्तिक: बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहनुभएकाे थियो ।

“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा !”, घिमिरेले भन्नुभयो, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो ।

अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी हुनुभयो । आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए ।

सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताउनुभयो । वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उहाँको भनाइ छ ।
न्वारान कर्ममा सहभागी बिक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिनुहुन्छ । “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उहाँले भन्नुभयो ।

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाउनुभयो । उहाँले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताउनुभयो ।

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का
पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राख्नुभयो । “आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उहाँले भन्नुभयो ।

तर शिशुकी आमा रिता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाउनुभयो । “बच्चा जन्मिनु अघिनै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ । गर्व महसुस गरेँ”, उहाँले भन्नुभयो । नामकरण गर्दा पुरोहितले भने झैँ आफै कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाउनुभयो ।

भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ । मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएकाे छ । भौतिकरुपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरुपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ ।

शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।