सराये नाचको उद्गमस्थल अर्घा दरबार

प्रेमनारायण आचार्य/अर्घाखाँची, १२ कात्तिक : सराये नाच अर्घाखाँचीको मौलिक नाच हो । कोजाग्रत पूर्णिमाको दिन अर्घामा सराये नाच हुने गर्छ । अर्घाको सरोये नाच देशभर प्रसिद्ध छ ।

यस नाचमा महिला र पुरुष हातमा तरबार खुडा आदि लिएर वाखै भाइ हो वा भन्दै सराये नाच्ने गर्दछन् । वर्षे दसँै अर्थात् बडादसँैमा जिल्लाका अधिकांश मन्दिरमा नाचिने सराये नाच चैते दसँैमा पनि केही ठाउँमा नाचिने गरिन्छ । आसुरी शक्तिमाथि दैविक शक्तिले युद्धमा विजयी भएको खुसियालीमा सराये नाच नाचिने परम्परा रहेको छ ।

अर्घाको सराये नाच पञ्चाङ्ग पात्रोमासमेत समावेश गरिएको र नेपालकै प्रसिद्ध नाच रहेको अर्घा भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो । सराये नाचको उद्गमस्थलका रुपमा अर्घा भगवती मन्दिर र अर्घा दरबार रहेको छ ।

हिन्दूहरुको महान् पर्व बडादसैँमा नाचिने सराये नाच एकादशीका दिन सन्धिखर्क, द्वादशीका दिन शीतगङ्गा नगरपालिकाको ठाडा, भूमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीका दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट, भूमिकास्थान नगरपालिका नुवाकोटको ताराखसे, चर्तुदशीका दिन मालारानी गाउँपालिकाको हंसपुरको रागामारे, सन्धिखर्कको कुर र पूर्णिमाका दिन अर्घा भगवती मन्दिर अर्घा दरबारमा नाचिन्छ ।

तरबार खुँडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुँडा र हतियार प्रदर्शनसहित आलम देवीका साथमा नाचिने यो नाचले देवी खुसी हुने मान्यता रहेको पाणिनि बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीले बताउनुभयो ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराये नाच नाच्ने गरिन्छ । सराये महिला, पुरुष मात्र एक भएर होइन सबै जातजाति एकैठाउँ भएर नाचिने नाच हो ।

सराये नाच अर्घाखाँचीको मौलिक नाच हो । यस नाचमा महिला र पुरुष हातमा तरबार खुडा आदि लिएर वाखै भाइ हो भन्दै सराये नाच्ने गर्दछन् । वर्षे दसैँ अर्थात् बडादसैँमा जिल्लाका अधिकांश मन्दिरमा नाचिने सराये नाच चैते दसैँमा पनि केही ठाउँमा नाचिने गरिन्छ ।

कहिलेदेखि सराये नाच्न सुरु गरियो भन्ने कसैले बताउन नसके पनि सयौँ वर्षदेखि देवीलाई खुसी पार्न नाच्न थालिएको हो । चैते दसैँमा चरेपानी गौचौर, अर्घातोष र सेंगलेंगको मन्दिरमा नाच्ने गरिन्छ । सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ ।

देवीले महिसासुर र शुम्भको बध गरेको खुसियालीमा नाच्न थालिएको इतिहास रहेको र कोजाग्रत पूर्णिमाका दिन अर्घामा विशेष मेला लाग्ने स्थानीय तथा लुम्बिनी प्रदेशका सभासदस्य पूर्वमन्त्री चेतनारायण आचार्यले बताउनुभयो । सराये नाच र अर्घाको प्रचारप्रसार तथा भौतिक पूर्वाधार विकासमा गुरु योजना बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सबै जातजाति, एकापसमा मिली खुँडा तरबार तथा हतियार नचाउँदै नाचिने यो नाच जिल्लाको मौलिक नाच हो र यस नाचको प्रचारप्रसार गर्न जरुरी छ । धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा शप्तसती पाठ भइरहेको पण्डित केशवराज आचार्यको भनाइ छ । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट पूजा गरिएको पण्डित आचार्यको भनाइ छ ।

हाल यस मन्दिरमा एशियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राखिएको छ । मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छविकालदेखि नै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एशियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो । सन्धिखर्क नगरपालिकाका पूर्वनगर प्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापना गर्न पहल गर्नुभएको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्यूठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सराये नाचको प्रमुख उद्गमस्थलका रुपमा रहेको अर्घाको दरबार र अर्घा भगवती मन्दिरको प्रचारप्रसारमा सबै निकाय लाग्नुपर्ने देखिन्छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।