पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी

गल्याङ, १३ कात्तिक ः स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पस्नुभयो । पढाइमा अब्बल मानिनुभएका उहाँको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उहाँ विदेश पसेर राम्रै कमाइ गर्न थाल्नुभयो तर विरामी परेपछि स्वदेश फर्कनुभयो ।

उहाँले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गर्नुभयो । रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख ऋणम डुुब्यो ।

व्यवसायबाट सन्तुष्ट हुन नसक्नुभएका उहाँले कुखुरापालन छोडेर रु १० लाख ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः उहाँले भैँसी पाल्न सुरु गर्नुभयो । “अहिले फार्ममा छ भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्”, उहाँले भन्नुभयो, “चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०÷३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक रु १२ देखि १५ लाखको दूध बिक्री हुन्छ ।” कुनै बेला १८ सम्म भैँसी पु¥याउनुभएका उहाँले कामदार अभावमा भैँसीलाई घटाएर गाई थप्नुभयो ।

उहाँले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । “तीनदेखि पाँच टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु”, उहाँले थप्नुभयो, “गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो रु एकसय २० मा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक रु दुई लाख ४० हजारको कारोबार हुन्छ ।”

त्यस्तै उहाँले तीन टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आउनुभएको छ । किसान अनिलले रु एक सय ४० देखि रु एक सय ५० मा प्रतिकिलो काँक्रो बिक्री गर्दै आउनुभएको छ । उहाँले काँक्रोको वार्षिक रु पाँच लाखको कारोबार गर्नुहुन्छ । उहाँले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिनुभयो । “मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच÷छ सय किलो सिमी उत्पादन गर्दै आएको छु”, उहाँले भन्नुभयो, “सिमीको बजार भाउ रु ७० देखि रु एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि रु ८० हजारसम्मको कारोबार हुन्छ ।

यस्तै उहाँको फार्ममा चार÷पाँच सय बोट काउली हुर्किरहेका छन् । काउली प्रतिकिलो रु एक सयदेखि एक सय ५० सम्ममा बिक्री हुन्छ । एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उहाँले बताउनुभयो । उहाँले यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा रु ५० हजारको कारोबार भएको दाबी गर्नुभयो । उहाँले वार्षिक ८०÷९० मुरी धान समेत उत्पादन गर्नुहुन्छ । अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैँले पु¥याएर फर्कनुहुन्छ ।

फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो । अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन् । उहाँले उन्नत जातका घाँस पनि लगाउनुभएको छ । “युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि रु पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो”, उहाँले भन्नुभयो, “युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस ग¥यो ।”

उहाँले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोख्नुभयो । “कृषि ज्ञान केन्द्र स्याङ्जाले ३० रोपनी क्षेत्रफलमा आलु लगाउने समूहलाई अनुदान दिने भनेको रहेछ”, उहाँले भन्नुभयो, “मैले ३० रोपनीमा हैन ४० रोपनीमा आलु लगाउँछु, मलाई अनुदान दिनुहोस् भनेको छु ।” उहाँलाई फार्ममा काम गर्नका लागि बुबा उमालाल र आमा कमला उपाध्यााय, श्रीमती मञ्जु पौडेलले सहयोग गर्दै आउनुभएको छ । उहाँले वाहिरीदुई जनालाई दैनिक रोजगारसमेत दिनुभएको छ ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याएर उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले बाँझो जग्गा अधिकतम उपयोग गर्ने किसानलाई कार्यविधि बनाएर अनुदान दिएको बताउनुभयो । उहाँले १८ रोपनी बाँझो जग्गा भाडामा लिए धान र तरकारीजन्य कृषिउपज उत्पादन गरेको जनाउँदै महालक्ष्मी कषि तथा पशुपालन फार्मका सञ्चालक अनिललाई रु ४५ हजार अनुदान दिएको बताउनुभयो ।

“फेदीखोला गाउँपालिकामा बाँझो जग्गा उपयोग अनुदान कार्यक्रमअन्तर्गत अहिलेसम्मकै बढी अनुदान पाउने कृषकमा अनिल पर्नुहुन्छ”, गाउँपालिका अध्यक्ष सुवेदीले भन्नुभयो, “गाउँपालिकाले उहाँलाई युवा उद्यम कार्यक्रममार्फत बिनाब्याज बिनाधितो पाँच वर्षका लागि रु पाँच लाख ऋणसमेत उपलब्ध गराएको छ ।” वैदेशिक रोजगारबाट फर्किएर गाउँ फर्केका हरेक युवालाई पालिकाले स्वरोजगार बन्न सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।