गुरुङ संस्कृति बुझ्न र सोरठी नृृत्य हेर्न घलेगाउँ

लमजुङ, १३ कात्तिक : प्राकृतिक छटाले भरिपूर्ण यहाँको क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक चहलपहल हुन भएको छ । दसैँअघि सुनसान जस्तै रहेको यहाँका घराबासमा दसैँलगत्तै चहलपहल सुरु भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिनुभयो ।

सचिव घलेका अनुसार घरबासमा दसैँ सुरु भएयता दैनिक ४० देखि ५० जना पर्यटक आउन थालेका छन् । “दुई दिन अघिसम्म दैनिक दुई सय जनासम्म पर्यटक आइरहेका थिए । विगतमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म आउने गरेकामा पर्यटक आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

यहाँ पर्यटकीय याममा प्रतिघरवासले रु ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नआउदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चालक पर्यटक आगमन बढेसँगै उनीहरुको सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले त प्रत्येक घरबास सञ्चालकले दैनिक जसो आम्दानी गर्न थालिसकेका छन् ।”

विसं २०५७ बाट सञ्चालनमा आएको यहाँको घरबासमा अहिले ४४ घरमा घरबास सञ्चालन छ । जसमा एकै पटक तीन सय जनासम्म बस्नसक्ने क्षमता छ । साथै दुई वटा होटलसमेत सञ्चालनमा छन् ।

घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहितको सांस्कृतिक नृत्यसमेत देखाउने गरिएको छ । विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।

घले गाउँ नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन ठाउँ हो । गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण हिमाल दोस्रो, अन्नपूर्ण हिमाल चौँथो, माछापुच्छे«, हिमालचुली, लमजुङ र बुद्व हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँ घले राजामध्ये अन्तिम घले राजा ज्याल्बु रुजा क्लेको शालिक पनि राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले स्थानीय तहमै उत्पादित अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायतका परिकार खुवाउने गर्दछन् ।

पर्यटकलाई सत्कारसँग आफ्ना कला संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरुको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गर्ने गरिएको छ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ ।

घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक भोजन र बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।

घले गाउँ काठमाडौँंबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।