कात्तिक कृष्णपक्ष लागेसँगै कुमालेको व्यस्तता

महोत्तरी, १५ कात्तिक (रासस) : चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कुमाले जाति समुदायको व्यस्तता बढेको छ । यसपक्षको अन्त्यमा पर्ने दीपावली र त्यसलगत्तै सुुरु हुने छठपर्वमा माटाका भाँडाको माग बढ्ने आशले कुमाले यो पक्ष लागेसँगै व्यस्त भएका हुन् ।

दीपावली र छठपर्वमा कलश राखिने भाँडा, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा)र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार अहिले यी भाँडा बनाउने काम कुमाले समुदायको प्राथमिकतामा परेको हो ।

वर्षभरि अन्यबेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिन्छ । पर्व विशेषमा बत्ती बालिने दियो, कलश राखिने अङ्खरा वा करुवा, पर्वका दही जमाइने छ्याँची, पर्वमा चढाइने सामग्री राखिने तौला र गाग्रीसहितका माटाका नयाँ भाँडा प्रयोग गर्ने स्थापित परम्परा छ । यस परम्पराले अहिले प्राचीन मिथिलाक्षेत्रका सबैजसो हटिया (बजार) मा अहिले माटाका भाँडाको बजार जम्दैछ ।

महोत्तरीको सुदूरउत्तरवत्र्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्यचोक र हटियामा अहिले २० वटाभन्दा बढी माटोका भाँडा पसल थापिएका छन् । अन्यबेला साप्ताहिक हाट लाग्ने दिनमात्र यी भाँडाका बजार लागे पनि अहिले कात्तिक कृष्णपक्ष सुरु भएसँगै दिनदिनै माटाका भाँडाको बजार जमेको बर्दिबास व्यापार सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउनुहुन्छ ।

मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ । दीपावली र छठपर्वमा पूजाआराधनामा प्रयोग गरिने सामग्री माटाकै भाँडामा राखनधरन गरिने परम्पराले माटाका नयाँ भाँडाको कारोबारमा वृद्धि भएको यस्ता भाँडा बनाउने पेसाका कुमालहरुको भनाइ छ ।

भाँडा बिक्री भएसँगै आफूहरूको दीपावली र छठपर्वको खर्च जोहो हुने गरेको कुमाल (माटाका भाँडा बनाउने मिथिला क्षेत्रका जातीविशेष) बताउँछन् । पर्वको मुख पारेर महोत्तरीका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी स्टल (पसल) नै राखिएका छन् । महोत्तरीबाहेकका मधेश प्रदेशका अन्य जिल्लाका बजारमा पनि माटाका भाँडा बिक्री हुँदै आएका छन् । माटाका भाँडा–वर्तनको बिक्रीका लागि दिवाली र छठ पर्वपूर्व उपयुक्त बेला मानिन्छ । विगतमा घर व्यवहार प्रयोजनमा बाक्लै माटाका भाँडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेको छ । यसैले चाडपर्वका लागि मात्र यसको माग हुने गरेको कुमाले बताउँछन् । मिथिलामा दीपावली, छठ, चौरचन र दसैँं माटाका नयाँ भाँडाको माग हुने मुख्य पर्व भए पनि यसको छुट्टै बजारको चहलपहल चाँही दीपावली र छठपर्वको मुखमा हुने गरेको छ ।

मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेपछि आफूहरूको व्यवसाय चाडपर्व विशेषमा खुम्चिएको कुमाले बताउँछन् । अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ परेको भङ्गाहा नगरपालिका–५ भूचक्रपुर बस्तीका काशीलाल पण्डित कुमालले बताउनुभयो ।

दिवाली र छठपर्वका अवसरमा महोत्तरीका बजारमा ५० लाखभन्दा बढीको माटाका भाँडाको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान छ । कात्तिक कृष्णपक्षसँगै जमेको माटाका भाँडाको बजार छठसम्मै रहने र यस्ता सामानमा केही मूल्यवृृद्धिसमेत भएको हुँदा यी पर्वभित्र जिल्लाभरिमा ५० लाखभन्दा बढीको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंह बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।