‘जाउँ है पोखरा अभियान’ : प्राथमिकतामा आन्तरिक पर्यटन

महोत्तरी (बर्दीवास), १७ कात्तिक : होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।

पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ अभियानका साथ हिँडेको पर्यटन व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले पूर्वी नेपालका प्रमुुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । पोखराबाट बिहीबार जनकपुर आइसकेको टोलीले उक्त क्रममा राजमार्ग क्षेत्रको बर्दिवासमा त्यहाँका व्यवसायीसँग पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । छलफलमा होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले आफूूहरूले दुई दशकअघिदेखि नेपालभित्रैका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको जानकारी गराउनुुभयो ।

होटल सङ्घले अभियान सञ्चालन गर्दा तत्कालीन समयमा एक प्रतिशतमात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको उहाँले बताउनुुभयो । जाउँ है पोखरा अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्त्वपूर्ण प्रभाव पारेको सुवेदीले बताउनुुभयो । देशमा आन्तरिक द्वन्द्वको समयका साथै कोरोना महामारीलगायतका विभिन्न विपत्तिले समग्र पर्यटन क्षेत्र सङ¬्कटमा परेका अवस्थामा आन्तरिक पर्यटनले महत्त्वपूर्ण भरथेग गरेको उहाँले बताउनुुभयो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ बर्दिवासका अध्यक्ष गोपाल कार्कीले पर्यटन क्षेत्रको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुुभयो । सरकारको पर्यटनमैत्री नीतिका साथै अत्यावश्यकीय पूर्वाधार विकासमा राज्यले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । आन्तरिक पर्यटनको विकासबाट पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताउँदै कार्कीले आफूूहरू पर्यटकीय साझेदारी बढाउने कुरामा तयार रहेको बताउनुुभयो ।

होटल एशोसिएसन नेपाल (हान) मधेस प्रदेशका सदस्य दीपेन्द्र पराजुलीले साझेदारी बढाउन सकेमा पर्यटन क्षेत्रको विकास सम्भव हुने धारणा राख्नुुभयो । पूर्वी नेपालका धेरै पर्यटकीय गन्तव्य प्रवर्द्धन हुन नसकेको बताउँदै उहाँले २३ प्रजातिको लालीगुराँस पाइने तीनजुरेलगायतका गन्तव्यमा पर्यटक पुुग्न नसकेका बताउनुुभयो ।

“कतिपय गन्तव्य बाटोलगायतका पूर्वाधार नहुँदा प्रवर्द्धन हुनसकेका छैनन्”, उहाँले भन्नुुभयो, “पूर्वाधारका कारण पछि परेका गन्तव्यको विकासका लागि त्यहाँका अत्यावश्यकीय पूर्वाधार निर्माणलाई राज्यले जोड दिनुुपर्छ ।” पछिल्ला समयमा बर्दिवास क्षेत्रमा सुविधासम्पन्न होटल थपिने क्रम बढिरहेको बताउँदै उहाँले सुविधासम्पन्न होटलको सङ्ख्या न्यून रहेको जानकारी दिनुुभयो । बर्दिवासमा मध्यमस्तरका तथा सामान्य होटल भने थपिँदै छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ बर्दिवासका महासचिव नारायण घिमिरेले पछिल्लो समयमा नेपालीमा घुमफिर संस्कृति बढिरहेको बताउनुुभयो । होटलको व्यवसाय घट्दा समग्र बजारको व्यवसाय पनि घटेको पाइएको उल्लेख गर्दै उहाँले देशका सबै किसिमका व्यापार–व्यवसाय बढ्नका लागि होटलको व्यापार बढ्नुु जरुरी रहेको धारणा राख्नुुभयो । दिगो पर्यटनका लागि आन्तरिक पर्यटन नै बढ्नुुपर्नेमा जोड दिँदै उहाँले यसका लागि पर्यटकीय सहर तथा गन्तव्यको एकापसामा साझेदारी हुनुु आवश्यक रहेको बताउनुुभयो । चर्को ब्याजदरलगायतका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको उल्लेख गर्दै घिमिरेले पछिल्लो समयमा बढ्दो युवा जनशक्ति पलायनले पर्यटन क्षेत्रमा दक्ष कामदार पाउन मुस्किल परिरहेको बताउनुुभयो । विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनबाट उक्त मार्ग तथा क्षेत्रमा पर्ने स्थल प्रवर्द्धन हुने बताउँदै उहाँले पाथिभरा जाने पर्यटकको सङ्ख्या बढ्दा बर्दिवासको स्वतः प्रवर्द्धन हुने बताउनुुभयो ।

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले दिगो पर्यटनका लागि आन्तरिक पर्यटनका गतिविधि बढ्नुु जरुरी रहेको बताउनुुभयो । स्वदेशी पर्यटकले विदेशी पर्यटकले भन्दा बढी खर्च गर्ने गरेको अनुुभव सुनाउँदै उहाँले आन्तरिक पर्यटनको विकासका लागि एकापसमा समन्वय तथा सहकार्य आवश्यक भएको बताउनुुभयो । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आफूहरू पनि अभियान सञ्चालन गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुुभयो । ‘जाउँ है पोखरा’ अभियानका क्रममा जनकपुर, विराटनगर, विर्तामोड, धनकुटालगायत सहरमा त्यहाँका पर्यटन व्यवसायी सङ्घसँग छलफल एवं अन्तक्र्रिया गरिने होटल सङ्घ पोखराका सचिव पार्वता पाण्डेले जानकारी दिनुुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।