टोड्केबाट फर्कंदा मूलाको कोसेली

गलेश्वर (म्याग्दी), १८ कात्तिक : आर्ग्यानिक उत्पादन र हिमशृङ्खलाको दृश्यावलोकनका लागि प्रसिद्ध ठाउँ हो म्याग्दीको पर्यटकीयस्थल टोड्के । बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्के धौलागिरि क्षेत्रमै मूलाखेतीका लागि प्रसिद्ध मानिन्छ । यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीयले स्वादिष्ट मूलाको कोसेली दिएर पठाउने गरेका छन् ।

टोड्के समुद्री सतहदेखि दुई हजार चारसय मिटर उचाइमा पर्दछ । सेता हिमालका दृश्य र चिसो हावाको स्पर्शले यहाँ पुग्ने पर्यटक मोहित हुने गर्दछन् । यहाँबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन् । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने स्थानीय बताउँछन् ।

पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मूला यहाँ पुग्ने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको स्थानीय महिला उद्यमी तिजमाया पाइजाले बताउनुभयो । “स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो”, उहाँले भन्नुभयो ।

टोड्केका स्थानीयवासीले स्थानीय जातको सेतो र रातो रङको मूला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबुबाजेको पालादेखि लगाउँदै आएको मूलाखेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । पाँच घरधुरी बसोबास रहेको टोड्केवासीको मुख्य पेसा मूला तथा आलुखेती रहेको पाइजाले बताउनुभयो । मूला, आलु र फापरका साथै भेडापालन गर्दै आएका उहाँको भनाइ थियो ।

टोड्केमा उत्पादित मूलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेलीसमेत बनेको छ । भैँसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मूला खोज्दै ग्राहक किन्न आउने गरेको पाइजाले बताउनुभयो । उहाँका अनुसार स्थानीयले एक सिजनमा उत्पादित मूला बेचेर झण्डै एक लाख रुपैयाँ आम्दानी गर्दछन् । यहाँका किसानले परम्परागत खेती प्रणाली अपनाएर मूला लगाउँदै आएका छन् ।

हिउँद र वर्षामा गरी वर्षमा दुई पटकसम्म मूलाखेती गर्न सकिन्छ । टोड्केमा एकै सिजनमा उत्पादित मूला वर्ष दिनसम्म खान पुग्छ । मूला किन्न आउनेलाई बारीमै ठूलो मूलालाई ५० र सानालाई २५ रुपैयाँका दरले बिक्रीवितरण गर्ने गरिएको पाइजाले जानकारी दिनुभयो । टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मूलाको तौल झण्डै पाँच किलोसम्म हुने गरेको मूला व्यवसायीले अनुभव सुनाएका छन् ।

परम्परागत खेती प्रणालीमा आधारित रहेर प्राङ्गारिक मलको प्रयोग गरेपछि मूलाको तौल बढ्ने गरेको टोड्केका अर्का मूला व्यवसायी मिनबहादुर थजालीले बताउनुभयो । म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा मानिन्छ । टोड्केबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि हिमालसहित नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«ेको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँ उत्पादित अर्गानिक मूलाले स्थानीयस्तरमा पर्यटन प्रवद्र्धनसमेत गरेको थजालीको भनाइ थियो । उहाँका अनुसार स्थानीयवासीको लगानीमा टोड्केमा सामुदायिक लज सञ्चालनमा आएपछि त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले मूला र आलु खरिद गर्ने गरेका छन् ।

सामुदायिक लजमा पाहुना भएर बस्न जाने पर्यटकलाई अर्गानिक उत्पादन मूलाको स्वाद चखाउने गरिएको थजालीले बताउनुभयो । “टोड्के क्षेत्रको भ्रमणमा निस्कने पर्यटकमार्फत मूलासहित स्थानीय उत्पादनको पनि प्रवद्र्धन भएको छ”, उहाँले भन्नुभयो, “यहाँ पुग्ने पहुनालाई मूलाबाट बनेका अचार, चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीका रुपमा दिने चलन छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।