१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

रुपनी जिएम/जानकी (बाँके), २१ कात्तिक : जमुना बुढामगर भर्खर १९ वर्षको हुनुभयो । केही दिनअघि गएको भूकम्पका कारण उहाँले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाउनुभयो । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहनुहुन्छ । भूकम्पबाट घाइते उहाँ हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाकोे गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उहाँले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उहाँ अस्पतालको शैययामा छटपटिरहनुभएको छ ।

जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्नुहुन्न । निकै कम बोल्नुहुन्छ । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउनुहुन्छ । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आउनुभएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिहुन्छ ।

“छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे”, आमा पवित्राले भन्नुभयो, “एक्लै–एक्लै आफँैसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।” भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उहाँलाई छोरीको चिन्ताले सताइरहेको छ ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुग्नुभएको थियो । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताउनुभयो ।

“हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ”, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिनुभएका उहाँले भन्नुभयो । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसान.घाटमा नै गरिएको बुवा भागिरामले बताउनुभयो ।

जमुनाको उद्धार गर्न जाजरकोट पुग्नुभएका भागीराम र उहाँकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो । “हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।” दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए ।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमान्सँगै आउनुुभएकी आमा पवित्रा भन्नुहुन्छ, “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला”, उहाँले भन्नुभयो, “अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।”

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो । दुई जना निको भई घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।