फूलैफूलले रङ्गीयो बस्ती

रमेश गिरी /भक्तपुर, २३ कात्तिक : भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा नजिकिँदो तिहारको झल्को दिइरहेको छ । व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्ती मात्रै होइन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनदेखि बारीसमेतमा लहरै झुलेका मखमली र सयपत्री फूल लटरम्म फूलेपछि यहाँका अधिकांश गाउँ रङ्गीचङ्गी बनेका हुन् ।

तिहार नजिकिँदै आएपछि व्यावसायिकरुपमा फूलखेती गर्ने किसानलाई भने यतिखेर मखमली फूल टिपेर माला उन्न र सयपत्री फूल टिपेर मुठा पार्न भ्याइनभ्याइ भएको छ । काठमाडौँ उपत्यकामै सबभन्दा बढी व्यावसायिक फूलखेती गर्ने सूर्यविनायक नगरपालिका– ७ गुण्डुका घरघर र टोलटोल यतिखेर ढकमक्क भएका छन् भने फूल टिप्न र माला गाँसेर बजार पु¥याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ ।

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान मात्रै होइन फूलखेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बस्ती सरेर आउनेहरु पनि उत्तिकै बढेको गुण्डु निवासी जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले बताउनुभयो ।

धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली तथा डिल जताततै फूलखेतीले ढकमक्क बनेको उहाँको भनाइ थियो। एकैपटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ भने फूल बिग्रिएन भने एकै याममा एक रोपनी जग्गाबाट रु एक लाखसम्म आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

सूर्यविनायक नगरपालिकाले विगत केहीवर्षयता स्थानीयवासीलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । यसवर्ष स्थानीयवासीलाई सयपत्रीका ४५ हजार बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।

गुण्डुबाट मात्रै तिहारमा काठमाडौँ उपत्यका, उपत्यका बाहिरका साथै अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, हङकङलगायत देशमा पनि करोडौँको फूल तथा माला निर्यात गर्ने गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुुभयो ।

स्थानीयवासी अनिता बस्नेतले तीन रोपनी जग्गामा फूलखेती गर्दा एकै याममा रु चार लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“मैले सयपत्री साँढे दुई रोपनी र मखमली फूल आधा रोपनी जमिनमा मात्रै लगाएको छु, यसवर्ष नै रु तीन लाख बराबरको सयपत्री र रु एक लाख बराबरको मखमली फूल उत्पादन गरेको छु । एक रोपनी जग्गामा मखमलीका पाँच हजारवटा माला उन्न सकिने छ । ” यसवर्ष एउटा माला कम्तीमा रु २५ मा बिक्री हुँदा पनि रु एक लाख बराबरको माला उत्पादन हुने बस्नेतले बताउनुभयो । विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आउनुभएकी उहाँले उहाँले अमेरिका, क्यानडा, अस्ट्रेलिया र जापानमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला रु २५ मा खरिद गरी रु २७ मा पठाउने गरेको जानकारी दिनुभयो ।

मखमली फूल र त्यसका माला लिन गाउँमै व्यापारी आउने गरेपछि किसानलाई पनि सजिलो भएको बताउनुभयो स्थानीयवासी मीना नगरकोटी । कतिपयले भने आफैँ बजार पु¥याउने गर्छन् भने धरैले गाउँघरमै आउने व्यापारीलाई मखमली र सयपत्री फूल बिक्री गर्दै आएको उहाँको भनाइ थियो ।

सयपत्री फूल एक मुठाको रु १० देखि १२ मा बिक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु ६०० मा बिक्री हुँदै आएको छ । स्थानीयवासी एवं जिससका पूर्वउपप्रमुख सरिता कुँवरले विगत दुई दशकदेखि भक्तपुरमा फूलखेती हुदै आए पनि व्यावसायिकरुपमा खेती सुरु भएपछि यहाँका बासिन्दाको मुख्य आयस्रोत फूलखेती बनेको उल्लेख गर्नुभयो ।फूलमा लाग्ने रोगको पहिचान र निदान गर्न सके भक्तपुरबाटै देशलाई फूलमा आत्मनिर्भर बनाउन सकिने उहाँले जोड दिनुभयो ।

भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, बागेश्वरीलगायत ठाउँमा अहिले व्यावसायिक फूलखेती भइरहेको छ ।- रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।