जोखिमपूर्ण बन्दै कमलाको काठे पुल

सिरहा, २३ कात्तिक: दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।

बाह्र वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।

“नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्”, पुल तरेर सिरहा बजार आउनुभएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भन्नुभयो, “बिहानसम्म आवतजावत सहज थियो, तर अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।” नगरपालिकाले यही काठको पुल पनि मर्मत सम्भारमा ध्यान नदिएको गुनासो उहाँले गर्नुभयो ।

यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउनुहुन्छ । “यहाँको दुर्गती भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रुपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घण्टा लामो यात्रा गर्नुपर्छ”, यादवले भन्नुभयो, “निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।”

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो ।

निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम सुरु गरेकोे थियो । तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।