कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर भारतकी शीतल महाजनले राखिन् विश्व कीर्तिमान
काठमाण्डाै – भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनुभएको हो ।
यसअघि कालापत्थरमा महिला स्काई डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले त्याे रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । न्युजिल्यान्ड र अमेरिकाका दुई स्काई डाइभरको रेकर्ड थियो ।
४१ वर्षीया महाजन भारतको पुनेकी स्काई डाइभ र खेलकुद क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले भारतको प्रसिद्ध पद्यमश्री पुरस्कार प्राप्त गरिसक्नुभएको छ । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गर्नुभएको कम्पनीले जनाएका अध्यक्ष सुमन पान्डेले जानकारी दिनुभयो ।
महाजनको रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काई डाइभ गरेको कम्पनीले जनाएको छ ।
स्काई डाइभ एक साहसिक खेल पर्यटन हो । विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ । दुबईमा समुद्रबीचको टापुमा स्काई डाइभ गरिन्छ । मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ । इजिप्टमा पिरामिडको अगाडि स्काई डाइभ हुन्छ । स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ । जुन जीवनकालकै बहुमूल्य हुन्छ । नेपालको स्काई डाइभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काई डाइभको आकर्षण हुन्छ ।
मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काई डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । स्काई डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ शुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काई डाइभ हुँदै आएको छ । सन् २००९ मा हाइएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो ।


