पाइन छोडे हल गोरु

ढोरपाटन (बागलुङ), ५ मङ्सिरः बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे ।

गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो । तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन् । बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन । हिजोआज यो सुविधा गाउँगाउँसम्म पनि पुगेको छ । आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए ।

ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । पहिले पाँच÷सात हल गोरु पालेरै जीविका चलाउँदै आएका किसानले पनि अहिले पाल्न छोडेका छन् । गाउँगाउँमा खेतबारी जोत्ने उपकरण पुगेपछि हल गोरु विस्थापित हुँदै गएका हुन् । बागलुङको ताराखोला, तमानखोला, ढोरपाटन र निसीखोलामा बढी पशुपालन गरिन्थ्यो । एकै परिवारले १० हलसम्म गोरु पाल्ने गरेकामा अहिले एक हल पनि पाल्दैनन् । खेतबारीको कामका लागि अर्मपर्म गर्ने चलन पनि अहिले हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगमा आएको छ । गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिदिन्छ ।

कतिपय किसानले गोरु खोजेरै खनजोत गर्ने गर्छन् । मिनीटेलर हलो गोरु जति उपयोगी नभएको किसान बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने स्थानीय मीनबहादुर क्षेत्रीले बताउनुभयो । गोरुको जस्तो जोताइ मिनीटेलर हलोले नहुने उहाँको भनाइ छ । पहिले गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गरेको उल्लेख गर्दै अचेल गाउँभरिमा हल गोरु पाउन मुस्किल हुने क्षेत्री बताउनुहुन्छ । आफूले दुई वर्षसम्म मिनीटेलरले जोतेर धान, मकै र गहुँ लगाएको सुनाउँदै पहिलेको तुलनामा झण्डै आधा घटेको बताउनुभयो ।

“नयाँ–नयाँ प्रविधिको विकास हुनु राम्रो हो, तर पुरानो परम्परालाई छोडेर सबै नयाँ अँगाल्नु पनि हुँदैन, गोरु र मिनी टेलरले जोतेको बारी धेरै फरक हुन्छ, मिनी टेलरले खासै माटो उप्काउँदैन, गोरुले जोत्दा गहिरो गरी जोतिन्छ,” क्षेत्रीले भन्नुभयो, “केही समय मैले पनि मिनी टेलरले जोते, अहिले त बाली लगाउन गोरु खोजेरै जोत्ने गरेको छु, तरकारी र फलफूल लगाउन आधुनिक हलो प्रयोग गर्ने गरेको छु, पहिलेजस्तो गोरु पनि पाइन छाडे, गोरु खोज्न पनि लेकतिर जानुपर्ने अवस्था आएको छ ।”

बडिगाडका प्रेमबहादुर थापाले गाउँमा काम गर्ने जनशक्ति कम हुँदै गएपछि सयौँ रोपनी खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताउनुभयो । पाँच वर्ष अगाडिसम्म धान मकै फल्ने खेतबारीमा अहिले वनमारा र तीतेपातीले ढाकिन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै युवा शक्ति हुने र गोरु पनि हरेक परिवारले पाल्ने गरेको स्मरण गर्दै अचेल गाउँभरि दुई हल गोरु पाउन मुस्किल हुने थापाले बताउनुभयो । अहिले पनि धेरैले खेतबारी खोज्ने गोरुकै प्रयोग गरे पनि पाल्न भने छोडेको उहाँ बताउनुहुन्छ । गोरु पाल्नेले राम्रो आम्दानीसमेत गरिरहेको उहाँको भनाइ छ । एक हल गोरुले एक दिन खेतबारी जोते दुई हजारदेखि दुई हजार पाँच सयसम्म लिने गरेको थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गोरु पाल्न धेरैलाई गाह्रो हुने, तर जोत्न भने गोरु नै चाहिने, अचेलका मान्छे धेरै अल्छी हुँदै गए, हाम्रो पालामा गाउँमाथिको जङ्गलमा गएर साँघ काटेर ल्याएर खुवाउँथ्यौँ, बर्खामा लेक लैजानुपथ्र्यो, अहिले गाउँमा गोरु पालेका किसान थोरै छन्, उनीहरुलाई अहिले भ्याइनभ्याइ छ, एक दिन गोरु खोत्न लग्यो भने राम्रै कमाई हुन्छ, गोरुसँगै जोत्ने हली पनि भयो भने एकै दिनमा तीन हजार पाँच सय सय कमाउने गरेका छन् ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पछिल्लो समय परम्परागत खेती प्रणाली बिस्तारै हराउँदै जान थालेको भन्दै संरक्षणमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले अब गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने योजना बनाएको उल्लेख गर्दै उहाँले किसान परिचयपत्रसमेत बनाउन थालिएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।