श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी (म्याग्दी), ७ मङ्सिर : घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको हो ।

गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गर्ने क्रम जारी छ । एक÷एक ट्र्याक्टर बालुवा, गिट्टी र २० बोरा सिमेन्टबाट सुरुआत भएको पदमार्ग बनाउने अभियानमा अहिलेसम्म रु १३ लाख बढी नगद सहयोग जुटिसकेको पदमार्ग निर्माणका अभियान्तासमेत रहनुभएका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो ।

“सरकारी तवरबाट बजेट परेर बाटो मर्मत गर्ने प्रयासले सार्थकता नपाएपछि हामीले श्रमदान अभियानबाट केही अप्ठेरो ठाउँमा पक्की पदमार्ग बनाउने उद्देश्यले श्रमदान अभियान चलाएका थियौँ, अभियान सञ्चालन भएकै भोलिपल्टदेखि स्वतस्फुर्त श्रमदानमा सहभागी हुने र आर्थिक सहयोग गर्ने पनि हातेमालो गर्न थालेपछि पदमार्ग बनाउने अभियानलाई सबैको साझा अभियानको रुपमा अगाडि बढायौँ, देश तथा विदेशमा रहनुभएका धेरै जनाले सहयोग गर्नुभएको छ”, कटुवालले भन्नुभयो ।

पदमार्ग निर्माण योजना अहिले सबैको साझा अभियान बनेको छ । यो योजनालाई सरकारी तवरको कुनै बजेट बिनै समुदायको साथ, सहयोग र सहकार्यको नमूना कार्यको रुपमा स्थानीयले पूर्णताः दिने जमर्को गरेका छन् । पदमार्ग बनाउन स्थानीयवासीले एक दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन् भने अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भइसकेको छ ।

माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ । सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन् । दसैँ र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन् ।

भगवतीका विभिन्न बस्तीका सहयोगदाताले आफ्नो दिवङ्गत आफन्तको सम्झनामा पदमार्ग बनाउन स्वतस्फुर्त सहयोग गर्ने क्रम जारी रहेको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो । “सुरुमा श्रमदानबाटै पदमार्ग बनाउन थाल्यौँ, अहिले विभिन्न व्यक्तिले सहयोग गरिरहनुभएको छ, अभियानमा जुटेको सहयोगबाट थप पदमार्ग बनाउन जनशक्ति पनि थप गरेका छौँ, हामी यहाँ ढलान गरेर बनाएका हरेक सिँढीमा हाम्रो पसिनाले सिञ्चित गर्न चाहन्छौँ, सबैको साथ, सहयोग, सहकार्य र समर्पणको भावनाले यो पदमार्गले पूर्णता पाउने निश्चित भएको छ”, केसीे भन्नुभयो ।

पदमार्ग बनाउन श्रमदान गर्ने युवासँगै सङ्कलित सहयोग रकमबाट ज्याला दिने गरी श्रमिकसमेत परिचालन गरिएको छ । पदमार्ग निर्माणलाई गति दिन जङ्गलमै पाल टाँगेर बास बस्ने प्रबन्ध मिलाइएको छ । अहिले दैनिकरुपमा १५ जनालाई ज्याला नै दिने गरी पदमार्ग निर्माणमा परिचानल गरिएको छ । ज्यालामा काम गर्नेसँगै श्रमदान गर्ने पनि दैनिकरुपमा पदमार्ग निर्माणमा जुट्ने गरेको स्थानीय युवा हिमाल कटुवालले बताउनुभयो । भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज हुने उहाँको भनाइ छ ।

मङ्सिर महिनाभित्रमा कुनौटादेखि च्युरीबास खण्डमा चिटिक्कको पक्की पदमार्ग निर्माण गर्ने लक्ष्य छ । सुरुआतमा श्रमदानबाट मात्रै केही पदमार्ग बनाउने गरी काम सुरु भए पनि काम सुरु भएपछि देश तथा विदेशमा रहेका भगवतीवासीले मन खोलेर सहयोग गर्न थालेकाले पदमार्ग निर्माण योजनालाई निरन्तर अगाडि बढाइएको स्थानीय युवा डेकबहादुर कार्कीले बताउनुभयो ।

जङ्गलमा झाडी फँडानी गरेर ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको बन्दोबस्त मिलाएर पदमार्गलाई ढलान नै गरेर पक्की बनाइएको छ । आवतजावत गर्न सहज हुने गरी पदमार्गलाई साढे एकमिटर फराकिलो बनाइएको छ । पदमार्गमा २२ दिनदेखि काम गरिरहनुभएका स्थानीय ५६ वर्षीय प्रेमबहादुर कटुवालले पुन्य काममा सहभागी भएको अनुभूति हुने गरेको अनुभव सुनाउनुभयो ।

“हामीले काम त घरमा बसे पनि गर्छौं, तर यहाँ आएर पदमार्गमा पसिना बगाउँदा छुट्टै आनन्दको मिलेको छ”, उहाँले भन्नुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।