थारु समुदायको मेडरी नाच लोप हुने खतरा

नवलपुर, ८ मङ्सिर : प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो ।

जिल्लाको मध्यविन्दु–३ लेढाहाका थारु अगुवा होमबहादुर थनेतले सय भाइ कौरव तथा पाँच पाण्डवको जन्मदेखि कुरुक्षेत्रको युद्धसम्मको कथा मेडरी नाचमा प्रस्तुत गरिने बताउनुभयो । मेडरी नाच्नुअगाडि धाजो (बाँसका दुईवटा लिङ्गो) गाडेर पूजा गरेपछि मात्रै नाच सुरु हुने उहाँको भनाइ थियो । “धाजो हाल्दा ठूलो र सानो लिङ्गो गाडिन्छ”, उहाँले भन्नुभयो, “तीमध्ये ठूलो मर्दाना (पुरुष) र सानो जनियानी (महिला)को प्रतीकका रुपमा गाडिएको हुन्छ ।”

अहिलेका थारू युवाहरुले मेडरी नाच सिक्न र नाच्न नमान्दा प्राचीन संस्कृति नै लोप हुने अवस्थामा पुगेको थनेतले गुनासो गर्नुभयो । “केटाहरुले डिस्को नाच्न थाले । हामी बूढाहरुले मात्रै मेडरी नाच्नुपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो, “यो नाच छोड्नै नमिलेका कारण हामीलाई नाच्न कर लालेको छ । अहिलेका यसवा सिक्न र नाच्न नमान्दा प्राचीन संस्कृति नै हराउने चिन्ता लागेको छ ।”

मेडरी नाचमा महाभारतको सबै कथा भनेर नाच्ने गरिएको भन्दै ८० वर्षीय थनेतले एकै ठाउँमा सबै गीत गाउन नसकिए पनि खण्डखण्डमा गीत गाउने गरेको बताउनुभयो । “हामीले भाकल गरेर यो नाच सुरु गर्छौं, नाच्नुभन्दा अगाडि धाजो (खाँबो) गाडेर त्यसको पूजा गरेपछि मात्रै नाच सुरु गरिन्छ”, उहाँले भन्नुभयो । धाजो नगडी नाच्न सुरु गरे अशुभ हुने उहाँको भनाइ छ ।

“पहिले गुरौँ (थारु समुदायको पुरोहित)ले पूजा गरेपछि नबोल्ने साना बालबालिकालाई पूजा गर्ने थानमा लगेर मेडरी नाच छोड्न मिल्छ कि नाई भनेर सोध्दा उनीहरुमा देउता प्रवेश भएर यो नाच छोड्न मिल्दैन छोड्यो भने अनिष्ट हुन्छ भनेपछि हामीले नाचलाई निरन्तरता दिँदै आएका छौँ,” थनेतले भन्नुभयो, “हामी बूढाहरुले यहाँसम्म ल्याएको प्राचीन संस्कृति अब हामीपछि अगाडि बढ्दैन कि भन्ने चिन्ता लागेको छ ।” पञ्चायतको पालामा राजा महेन्द्रले यो नाच हेर्ने नवलपुरका थारुहरु पोखरा गएर राजालाई नाच देखाउने गरेको उहाँले जानकारी दिनुभयो ।

“राजा वीरेन्द्रको निमन्त्रणामा हामीले बुटवलमा पुगेर पनि नाच देखाएका छौँ,” थनेतले भन्नुभयो, “अहिलेका धेरै नेताहरुले हाम्रो नाच देखेका छन् तर संरक्षणमा ध्यान दिएका छैनन् ।” अश्विन शुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल एकादशीसम्म मेडरी नाच्ने गरिएको भन्दै उहाँले एकादशीको दिन पाण्डवहरुलाई जम्मै कुरा भनेर यस वर्षको नाच समापन गरिने बताउनुभयो ।

मध्यविन्दु–३ का विकाराम गुरौँले कुनै संस्था वा समुदायले प्राचीन मेडरी नाचका लागि निमन्त्रणा गरेपछि मात्रै नाच्ने गरिएको बताउनुभयो । “विधि पु¥याएर नाच्नका लागि निकै कठिन छ । त्यसैले पनि युवाहरुले खासै चासो दिएका छैनन्,” उहाँले भन्नुभयो, “उनीहरु हिन्दी तथा डिस्को नाच्न थालेपछि यो नाच लोप हुँदै गइरहेको छ ।” मेडरी नाचको पूरै कथा समेटिने गरी भिडियो निर्माण गरेर राख्दा पछिल्ला पुस्ता यसप्रति आकर्षित हुनसक्ने उहाँको भनाइ छ ।

“अहिलेका युवाले महाभारतको अर्थ बुझ्दैनन् । द्वापर युगमा भएको घटनाबारे चासो दिएका छैनन्,” गुरौँले भन्नुभयो, “पाण्डव र कौरवको जन्म, उनीहरुबीच राजकाजका लागि भएको विवाद, लडाइँसहितका सबै घटनाक्रमलाई मेडरी नाचमा प्रस्तुत गरिन्छ ।” नयाँ पुस्तालाई आफ्नो कला र संस्कृतिप्रति चासो दिनुपर्छ, सिक्नुपर्छ भनेर भन्दा पनि उनीहरुले चासो नदिएका उहाँले गुनासो गर्नुभयो ।

“हाम्रो संस्कार संस्कृति संरक्षण गर्दै अघि बढ्नुपर्छ,” गुरौँले भन्नुभयो, “संस्कृति नै हरायो भने हाम्रो अस्तित्व पनि हराउन सक्छ । यसतर्फ युवालाई जागरुक बनाउन राज्यले पनि भूमिका खेल्नुपर्छ ।” गाउँभरिका मानिस भेला भएर महाभारतको कथालाई गीतमार्फत गाउँदै धाजोलाई घुमेर मेडरी नाचिने उहाँको भनाइ छ ।

महाभारत युद्धमा प्रयोग भएका अर्जुनको घोडा, तरवार, भाला, गदालगायतका सामग्रीका रुपमा काठबाट बनेका सामग्री लिएर मेडरी नाच्ने प्रचलन रहेको गुरौँले जानकारी दिनुभयो । “यो नाच हामीले कात्तिकको ठूलो एकादशीमा समापन गर्छौँ” उहाँले भन्नुभयो, “एकादशीमा नाचेपछि हामीले पञ्चपाण्डवलाई तिमीहरुको कथामा आधारित नाटक हामीले ग¥यौँ, आजदेखि तिमीहरुलाई हामीले यही थानमा स्थिर राख्छौँ भनेर अर्को वर्षसम्मका लागि जिम्मा लगाएर बस्छौँ ।” -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।