बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

भरतपुर, १२ मङ्सिर : चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताउनुभयो । माडी नगरपालिका–८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन् । धार्मिक महत्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन् । सुरक्षालगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानाकारी दिनुभयो ।

खरकट्टास्थित बैकुण्ठ चोकबाट करिब साढे तीन किमी दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ ।

“केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको छ”, माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारी भन्नुभयो, “अहिले समूहमा वनभोजमा रमाउन आउने धेरै छन् ।” गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन् । प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताउनुभयो । यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्छ । यस वर्ष पनि मेलाको तयारी तीव्र पारिको छ ।

मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ । करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ । “ताल जोगाउन ड्यामको खाँचो छ, छहरा पनि व्यवस्थित गर्नुछ”, उहाँले भन्नुभयो, “कृत्रिम ताल यो होइन, अब संरक्षण गर्दा पनि कृत्रिमता झल्काइने छैन ।” उहाँले तालको दक्षिणतर्फ पर्यटक लोभ्याउने केही गन्तव्यहरू भेटिए पनि प्रचार–प्रसार गर्न नसकिएको बताउनुभयो । चौरमा संरचना बनाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको जनाउँदै उहाँले पर्यटक आकर्षण गर्ने खालका संरचना बनाइने जानकारी दिनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।