लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य हुनुभएका निसाद यतिबेला भने खुसी हुनुहुन्छ ।

राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उहाँ खुसी हुनुभएको हो । “जग्गा भएर पनि सुकुम्बासीजस्तो भएर बस्नुपरेको थियो । त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो । “निसाद भन्नुहुन्छ, “पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयौँ काम गर्न सकिन्थ्यो होला । त्यो हुन सकेन । अब आशा जागेको छ । स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन ।”

वडा कार्यालयले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै वडाभित्रका करिब छ सय परिवारमा खुसियाली छाएको छ । सोही ठाउँका मङ्गल पुनसँग कति जग्गा छ भन्ने थाहै छैन । करिब सात दशकदेखि भोगचलन गर्दै आएको जग्गा अनुमानित एक बिघाभन्दा बढी छ ।

वडा कार्यालयबाट निस्सा पाएपछि निकै खुसी भएका उहाँ लालपुर्जा पाउनेमा विश्वस्त हुनुहुन्छ । “एक बिघाभन्दा बढी जग्गा होला । तर नापजाँच अहिलेसम्म भएको छैन । उहाँ भन्नुहुन्छ, “वडा कार्यालयबाट निस्सा पाएपछि अब लालपुर्जा पाउने आशा जागेको छ । अब जग्गा कति छ भन्ने पनि थाहा हुन्छ ।”

भ्रतापुरका खेदु डगौरा पनि चार दशकदेखि ऐलानी जग्गा कुरेर बस्नुभएको छ । दश कट्ठा जग्गा आजसम्म आउँदा छ कट्ठामा सीमित भएको छ । सँधियारले मिच्दै गएपछि उहाँको १० कट्ठा जग्गा छ कट्ठामा सीमित भए पनि उहाँका लागि सबथोक त्यही जग्गा हो । “त्यसमा भएको उब्जनीबाट परिवारको पेट भरिन्छ । छोराछोरीको कापी कलम पनि हुन्छ खेदु भन्नुहुन्छ ।

वडामा छ सय ४० जनालाई जग्गको निस्सा वितरण भएको वडाध्यक्ष बलिराम चौधरीले बताउनुभयो । उहाँका अनुसार २० परिवार भूमिहीन दलित, ८० परिवार भूमिहीन सुकुम्बासी र पाँच सय ४० अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेको हो । “आजसम्म हामीले लालपुर्जा वितरण गरिसक्नुपर्ने थियो । बीचमा भएको सरकार परिवर्तन र अन्य प्राविधिक समस्याले समयमा काम गर्न सकिएन । “वडाध्यक्ष चौधरी भन्नुहुन्छ, “निस्सा वितरणको काम सकिएलगत्तै जग्गाको नापजाँचको काम सुरु गरेर लालपुर्जा वितरणको काम सुरु गर्ने तयारी गरेका छौँ ।”

नगरपालिकाले केही दिनमा अरु वडामा समेत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरणको काम सुरु गर्ने नगर प्रमुख रामलाल डगौरा थारुले जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी समस्या वडा नं १ र ८ मा रहेको र त्यहाँ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी धेरै रहेका बताउँदै क्रमशः सबैलाई जग्गाको मालिक बनाइने बताउनुभयो ।

टीकापुर नगरपालिकाको वडा नं १ स्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मात्रै पाँच हजारभन्दा भन्दा बढी सुकुम्बासी छन् । क्याम्पसको नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासी त्यही ठाउँमा जग्गा पाउने आशामा छन् भने क्याम्पस प्रशासनले पटकपटक आफ्नो जग्गा खाली गराइदिन स्थानीय सरकारमार्फत आग्रह गर्दै आएको छ । त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीलाई व्यवस्थापन गर्न भने चुनौती देखिन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।