झापाको अर्जुनधारा जलेश्वर धामले चार लाख पर्यटक भित्र्याउने तयारी

झापा, १६ मङ्सिर : झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।

विसं २०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मङ्सिर १७ देखि २५ गते (बालाचतुर्दशीका दिनसम्म) नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको बताउनुभयो ।

यस वर्षको मेलामा नेपाल, भारत र भूटानका चार लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ थियो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिश्चरेमा रहेको छ ।

सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको तस्वीरलाई सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

“महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेकाबेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ”, अध्यक्ष गट्टानीले भन्नुभयो, “विराट राजाको गाई हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु पुनःफर्काएर ल्याएका भन्ने भनाइ प्रख्यात छ ।” उहाँका अनुसार अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।

बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रुपमा आउनुहुने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आचार्य बालकृष्णसहित पतञ्जली योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ ।

धाममा हजारौँको सङ्ख्यामा आउने धार्मिक भक्तजनले मुलुकको पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जोशीको भनाइ थियो । उहाँका अनुसार आचार्य बालकृष्णले धाम परिसरमा निर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । “धामको स्थापना खडेबाबा नामका एक साधुले गरेका कारण उहाँको स्मृतिमा धाम परिसरमा शालिकसहितको एउटा पार्क निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले यस वर्षको धार्मिक अनुष्ठान क्रममा गङ्गा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतबीज छर्नेलगायत प्रमुख आकर्षण रहने बताउनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित गुरुकूल र अन्नदाता अक्षयकोष वृद्धिका लागि धाम समितिले दातासँग स्वेच्छिक सहयोगको आह्वान गरेको छ ।

धामका प्रचार संयोजक रमेश त्रिखत्रीका अनुसार अन्नदाता र गुरुकूल अक्षयकोष सञ्चालनका लागि रू एक करोडका दरले दुई अलगअलग अक्षयकोष बनाउने लक्ष्य रहेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।