उमेर ढल्केपछि चाहियो नागरिकता

सिरहा, १७ मङ्सिर : धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लाग्नुभएको छ । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उहाँलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उहाँलाई सजिलो पनि भयो ।

सोही स्थानकी दश नाती–नातीनाको हजुरआमा ५४ वर्षीय छलिमाया खपाङ्गेलाई पनि नागरिकता बनाउनुपर्ने रहेछ भन्ने लागेको छ । चार छोराछोरीको आमा छलिमायाका नाममा न कुनै चलअचल सम्पत्ति छ न बैंक तथा वित्तीय संस्थामा खाता नै । यसअघि उहाँलाई नागरिकता चाहिन्छ भन्ने कहिल्यै लागेन पनि । श्रीमान्को नागरिकताबाट सबै काम चलेकै थियो ।

“मलाई त कसैले नागरिकता चाहिन्छ भनेर अहिलेसम्म भनेका पनि थिएनन् । यसअघि खासै नागरिकता आवश्यक पनि परेन । भत्ता खाने बेलामा त चाहिन्छ रे”, नागरिकता शिविरमा कागजातसहितको प्रक्रिया पूरा गरेपछि छलिमायाले भन्नुभयो, “के गर्नु हजुर, घर छाडेर कहीँ टाढा गएकी छैन अहिलेसम्म । जानुपर्ने काम पनि परेन । यहाँ पनि यी नै बाहुचाहिँ (श्रीमान्)ले कर गरेर आएको ।” सरकारले गाउँमै आएर सेवा दिएकाले श्रीमती लिएर आएको छलिमायाका श्रीमान् दानबहादुर खपाङ्गेले बताउनुभयो ।

धनगढीमाई नगरपालिका–१४ को वडा कार्यालयमा युएनडिपीको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२ अन्तर्गत समग्र जनउत्थान केन्द्र लहान र धनगढीमाई नगरपालिकाको संयुक्त आयोजनमा शनिबार आयोजित नागरिकता शिविर कार्यक्रममा आसमान र छलिमाया जस्तै प्रायः उमेर ढल्केका प्रौढ महिला उपस्थित भई सनखदसहित आवश्यक कागजात मिलाउन व्यस्त थिए ।
उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त हुने भएपछि सामाजिक सुरक्षा भत्ताको आशमा केही हदसम्मको चमक उहाँहरुमा थियो । पुस्तौँदेखि नेपालमै थाकथलो भएका धेरै नागरिक अनेक कारणले नागरिकताविहीन हुनुपरेका कारण सरकारले दिने सुविधाबाट वञ्चित छन् । त्यतिमात्र नभई नागरिकताकै कारण कतिपय अवसर र कामबाटसमेत वञ्चित हुनुपरेको धनगढीमाई नगरपालिकाको उपप्रमुख सङ्गीताकुमारी चौधरी बताउनुहुन्छ ।

“गाउँघरमा नागरिकताको महत्व नबुझ्दा पनि धेरैले नबनाउने गरेका छन् । यसमा अधिकांश महिला तथा मुख्यगरी दूरदराजका उमेर ढल्केका आमा र हजुरआमा छन्”, उपप्रमुख चौधरीले भन्नुभयो, “नागरिकता नहुँदा निम्न आर्थिक अवस्थाका नागरिक सरकारी सुविधाबाट वञ्चित छन् । सरकार नागरिक नजिकै छ भन्ने अनुभूति दिलाउन, वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई सहज होस् भनी यो नागरिकता शिविर सञ्चालन गरिएको हो ।”

राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने प्रमाणपत्र नागरिकता भएकाले नगरका नागरिक कोही पनि अनागरिक भएर सरकारी सेवा र सुविधाबाट वञ्चित हुन नदिन आफू लागिपरेको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यले नागरिकलाई विभिन्न सेवासुविधा र अवसर उपलब्ध गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने हुन्छ र राज्यलेसमेत नागरिकबाट केही कर्तव्यको अपेक्षा राख्दछ । नागरिकताबिना हरेक व्यक्तिलाई आधिकारिक काममा समस्या पर्छ ।” यस शिविरबाट कोही पनि नागरिक नागरिकताविहीन नहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अशिक्षा, सूचनाको अभाव, सम्पत्तिमा हक नहुनेलगायत कारण नागरिकताबाट वञ्चित हुनेमा धेरैजसो महिला नै हुने गरेको अधिकारकर्मी देवराज पोखरेलको बुझाइ छ । दूरदराजका अधिकांश विवाहित महिला घरपरिवारसँग मिलीजुली बस्दासम्म नागरिकताकोे आवश्यकता महसुस नगर्ने र पतिपत्नीबीचको सम्बन्ध बिग्रेपछि वा घरपरिवारसँग सम्बन्ध नराम्रो हुँदै गएपछि नागरिकतालगायत अन्य कागजात नहुँदा दुःख पाउने गरेका अनुभव उहाँसँग छ । नागरिकता र न्यायका लागि पनि उमेर पुगेका जोसुकै नागरिकलाई नागरिकता बनाउन अनुरोध गर्नुहुन्छ, पोखरेल ।

जिल्लाकै विकट मानिने चुरेको फेदमा अवस्थित धनगढीमाई नगरपालिका–१२, १३ र १४ गरी तीन वटा वडालाई लक्षित गरी नागरिकता शिविर सञ्चालन गरिएको हो । शिविरमा जिल्ला प्रशासन कार्यालय सिरहा र इलाका प्रशासन कार्यालय लहानको संयुक्त कर्मचारीको टोली सम्मलित छ । नागरिकताका लागि आवश्यक कागजात र सनखदसहित तीनवटै वडाबाट शनिबार एक सय ४६ जनाले निवेदन दिएको इलाका प्रसासन कार्यालय लहानका प्रमुख लीलाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँको अनुसार सङ्कलित कागजातका अनुसार प्रक्रिया पु¥याएर मङ्सिर मसन्तसम्म नागरिकता गाउँमै हस्तान्तरण गरिनेछ ।

भौगोलिक कारण दुर्गम भएको तथा यातायातको समस्या तथा गरिबीले यहाँका धेरै नागरिक सम्बन्धित ठाउँसम्म पुग्न नसकी नागरिकताबाट वञ्चित हुनुपरेको अवस्था रहेको जानकारी पाएकाले शनिबारको दिन पारी एक दिन शिविर सञ्चालनका लागि पहल गरेको समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष रामभरोसी महतोले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।