बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ), १९ मङ्सिर : एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् । युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ ।

मगर खाम भाषा आठार मगरातअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोलिन्छ । खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पशुपालन र खेती किसानी यहाँका स्थानीयको मुख्य पेसा हो । पहिले–पहिले लेकबेँसी र घाँसदाउरा गर्दा खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । खाम भाषालाई आफ्नो पहिचान मान्ने यहाँका बूढापाका पछिल्लो समय भाषाको प्रयोग कम हुन थालेपछि चिन्तित बनेका छन् । कहिले र कसको पालादेखि यो भाषा बोल्न थालिएको भन्ने यकिन नभए पनि संरक्षण गर्नुपर्नेमा पाकापुस्ताको चासो छ ।

निसीखोला गाउँपालिकाले पाठ्यपुस्तक नै मगर खाम भाषामा बनाएर लागू गरे पनि यत्तिले मात्रै भाषा संरक्षण नहुने स्थानीय थमबहादुर घर्तीले बताउनुभयो । दिनदिनै गाउँ छाडेर बजार झर्नेको सङ्ख्या ठूलो भएको जनाउँदै उनीहरूलाई गाउँ नरोकेसम्म भाषा संरक्षण गर्न चुनौती हुने उहाँको भनाइ छ । आफ्नै गाउँठाउँमा सेवा सुविधा र रोजगार सिर्जना गर्न सकेमात्रै खाम भाषा र परम्परा जोगाउन सकिने घर्तीमगरले बताउनुभयो । गाउँमा हुने सार्वजनिक कार्यक्रममा पहिले सबै खाम भाषा बोल्ने गरेकामा हिजोआज बोल्न छाडेको उहाँले गुनासो पोख्नुभयो । स–साना बालबालिकालाई हरेक परिवारले आफ्नो भाषा सिकाउन नसके, अबको एक दशकमा यस क्षेत्रमा कोही पनि खाम भाषा नबोल्ने स्थिति आउन सक्ने घर्तीमगरको भनाइ छ ।

“मैले ठूलै हुँदासम्म अहिले बोल्ने खस भाषा बोल्न जान्दैनथे, गाउँघर सबैतिर खाम भाषा बोल्थे, मैले पनि सानैदेखि त्यही बोलेको हुँदा ठूलै भएर जान्ने बुझ्ने हुँदासम्म अरु भाषा बोल्न आउँदैनथ्यो, तर अहिलेका केटाकेटीलाई खाम भाषा सिकाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब सरकारले गाउँ छाडेर बजार जानेलाई यहीँ रोक्नुपर्छ नत्र हाम्रो भाषा, पहिचान गुम्छ, मलाई साह्रै चिन्ता लागेको छ, मैले गाउँमा हिँड्दा साना बालबालिकालाई भेट्दा पनि खाम भाषामै बोल्छु र बोल्न लगाउँछु, हरेक घर–घरमा खाम भाषा नै बोल्नुपर्ने व्यवस्था गर्नुपर्छ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषासँगै निसीखोलामा रहेका कला, संस्कृति र परम्परालाई संरक्षण गर्न पालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको बताउनुभयो । यस वर्षदेखि विद्यालयस्तरबाटै भाषा संरक्षणका लागि मगर खाम भाषामै पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर लागू गरेको उहाँको भनाइ छ । यहाँका हरेक घरमा हरेक व्यक्ति खाम भाषा बोल्ने गरेको भन्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने र गाउँघरमा बोल्दा यो भाषालाई अनिर्वाय बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । आधुनिकताले भाषासँगै अन्य पक्षमा पनि असर पुगेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मगर खाम भाषा संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ, बूढापाकाले त पहिलेदेखि नै बोल्दै आउनुभएको छ, नयाँ पुस्तालाई बढी जोड दिएका छौँ, गाउँमा बस्नेले त जसरी पनि भाषा बोल्ने गर्छन्, बजार झरेर पढ्ने, व्यवसाय तथा रोजगारी गर्नेलाई पनि भाषा संरक्षण गर्नतर्फ लाग्न आग्रह गरेका छौँ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।