पर्यटकको रोजाइमा महाकाली पुल

बेदकोट (कञ्चनपुर), २२ मङ्सिर : कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

पक्की पुलमा फोटो तथा भिडिओ कैद गर्नेको पछिल्लो समय भीडभाड लाग्ने गरेको दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम चन्दले जानकारी दिनुभयो । “पक्की पुलले यहाँ पर्यटकको आवागमनलाई बढाएको छ । पछिल्लो समय पुल अवलोकनका साथै तस्वीर र भिडिओ खिच्नेको भीडभाड लाग्छ”, उहाँले भन्नुभयो, “पुल हेर्न भारतबाट पनि पर्यटक आउने गर्छन् ।”

उहाँका अनुसार तुलनात्मकरूपमा सार्वजनिक बिदाको समयमा पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पक्की पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ ।

“यहाँ पुग्दा सामुद्रिक तटमा पुगेजस्तो महसुस भयो । सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्वीर कैद गर्न सकिन्छ”, पक्की पुल अवलोकन गर्न पुग्नुभएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का लक्ष्मीकान्त भट्टले भन्नुभयो, “पर्यटनको प्रचुर सम्भावना बोकेको यसको व्यापक प्रचार–प्रसार हुनु जरुरी छ ।”

कैलाली, कञ्चनपुरका साथै सीमावर्ती भारतीय सहरका बासिन्दा पुल अवलोकनका लागि पुग्ने गरेका छन् । पक्की पुल अवलोकनका लागि पुग्ने पर्यटकको रोजाइमा दोधारा चाँदनी झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत पनि पर्ने गरेका छन् । पक्की पुल निर्माणले दोधारा चाँदनी क्षेत्रमा आवातजावत बढेसँगै यहाँको व्यापार–व्यवसाय पनि फस्टाउँदै गएको छ ।

“यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे”, दोधारा चाँदनी–१ का होटल व्यवसायी नबहादुर बमले भन्नुभयो, “पक्की पुलले मानिसको भीडभाड पनि बढेको छ । व्यापार पनि राम्रो छ ।” विसं २०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ ।

गड्डाचौकीबाट दोधारा चाँदनीको मलेरिया नालासम्म आठ किलोमिटर पहुँचमार्ग र पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्धको काम अन्तिम चरणमा पुगेको छ । महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।