हराउँदैछन् काठका ठेकी

मन्थली (रामेछाप), २२ मङ्सिर : रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ ।

उहाँ धेरै मेहनतका साथ खोलाको पानीलाई डोहो¥याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउनुहुन्छ । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्नुहुन्छ धनबहादुर।

दिनभर काम गर्दा पनि राम्रो अर्थोपार्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे ।” पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको ठेकी भाँडा बनाउने ठाउ (चँुदारो) चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम छ । “हाम्रो पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुन्थ्यो ।

धनबहादुर जोड दिनुहुन्छ, “हामीले बलकै भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे, हामीले पनि त्यसरी नै काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग आवश्यक छ तर यो पेसा संरक्षणमा कसैको पनि सहयोग छैन ।”

काठको सामग्री बनाउन दार, पँयले, लौठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ । उहाँका अनुसार पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको छ । काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने बनाउन सकिन्छ ।

परम्परागतरूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन् । परम्परागतरूपमा काठबाट निर्मित कलात्मक तरिकाले कँुदिएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रोजस्ता वस्तु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा बिक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका ठेकीजस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो । त्यसकारण काठबाट बनेका वस्तु बिक्री वितरण हुने गर्दथे तर अहिले जताततै प्लास्टिकका वस्तु प्रयोग भएकाले काठबाट बनेका वस्तु लोप हुन थालेको मन्थली नगरपालिका–१३ का ओमकार अधिकारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडाको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठबाट ठेकी निर्माण गरिन्थ्यो तर अहिले गाउँमा काठको अभावमा यो पेसामा लाग्ने व्यक्तिसमेत पलाएन भइसके ।”

ठेकी व्यवसायी विश्वकर्मा भन्नुहुन्छ, “अहिले सामुदायिक वनमा काठ काट्न पाइँदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुख पनि मासिँदै गए । पहिला पहिला काठबाट बनेका ठेकीको माग अत्यधिक हुन्थ्यो । अहिले गाउँघरमा भैँसीगाई पाल्नै छाडे । कसैले पालिहाले भने पनि दूध सिधै डेरीमा बिक्री गर्न थाले”, दही जमाउने माटका भाँडा तथा आधुनिक प्रविधि आएका कारण पनि यो पुस्तौँदेखि गर्दै आएको पेसा लोप हुन लागेको हो । पहिला ठेकी पु¥याउन नै गाह्रो हुन्थ्यो । अहिले बनेका ठेकीसमेत बिक्री नभएर घरमा थन्काउन बाध्य हुनुपरेको छ । घरमा सजावटका लागि केहीले किने भने मात्र नत्र ठेकीको व्यापार धेरै कम भइसक्यो ।

काठबाट बनेको ठेकीमा दूध जमाउँदा राम्रो र मिठो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडामा जमाएको दही, मही र घ्यूको स्वाद काठको ठेकीमा जमाएको जस्तो नहुने अर्का स्थानीयवासी माइकल चौहान बताउनुहुन्छ ।

अर्का स्थानीयवासी माधव कार्की भन्नुहुन्छ, “अहिले बजारमा जताततै प्लास्टिक, स्टिल र सिलाबरका सामान निस्किए तर पनि ती प्लास्टिक, सिलावर र स्टिलबाट बनेका भाँडामा राखेको दूध बिग्रने गरेको छ । काठबाट बनेको ठेकीजस्तो बजारमा पाइने आल्मुनियमका ठेकी हुँदैनन् । त्यतिमात्र होइन यस्ता भाँडामा जमाएको दूधबाट बनेका परिकारसमेत मानव स्वास्थ्यको लागि गुणकारी हुँदैन ।

विशेषगरी दलित समुदायको विक र सार्की जातिले मात्र अपनाएको यो पेसा सङ्कटमा पर्दै जाँदा उनीहरुको रोजीरोटी पनि खोसिँदै गइरहको छ । सरकारले यस्ता पेसालाई संरक्षण गर्नसके पछिल्लो पुस्ताले पनि ठेकीलगायत काठजन्य वस्तु उत्पादनका बारेमा जानकारी पाउने मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहाल बताउनुहुन्छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।