ऋण लिन नागरिकता बन्धकी

तरही (सप्तरी), २२ मङ्सिर : साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल÷अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।

डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करिब एक दशकदेखि बन्धकी राखेपछि उहाँहरुको परिवार ठूलो समस्यामा परेका छन् ।

गाउँ नजिकै सञ्चालनमा रहेको इँटा उद्योगमा काम गर्दै आएका उहाँहरुको नागरिकता सोही इँटा उद्योगका मालिक भारतको मधुवनी जिल्ला तुलसीयाही ग्राम लौकही थाना निवासी जगदिश साहले बन्धकीमा राख्नुभएको छ ।

“इँटा उद्योगमा काम गरिरहेका बेला विसं २०७१ म ५० किलो चामल मालिक साहसँग मागेँ । उहाँले चामल दिएबापत नागरिकता बन्धकीमा राख्नुभयो”, ६० वर्षीया सुकराती सदाले भन्नुभयो, “चामलाबापत भट्टामा छ वर्ष काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै साहुले नागरिकता फिर्ता दिन मानिरहेका छैनन् ।” नागरिकता फिर्ता दिन पटकपटक साहुलाई भने पनि अझै भट्टामा काम गर्नुपर्ने अनि मात्रै नागरिकता फिर्ता दिने जवाफ आउने गरेको उहाँले गुनासो गर्नुभयो ।

“विसं २०७६ चैतमा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेको बेला सबै काम बन्द भएर दैनिकी चलाउन मुस्किल भएको थियो । त्यही समयमा मालिकसँग ऋणबापत ५० किलो चामल लिएको थिएँ”, ४५ वर्षीय भिखन सदाले भन्नुभयो, “साहुले चामल लिन कुनै सामान बन्धकी राख्नुपर्छ वा भट्टामा थप समय मजदुरी गर्नुपर्छ नत्र ऋण पाइन्न भनेर पर्काइदिए ।” आफूसँग बन्धकीमा राख्ने केही नभएकाले नागरिकता नै राख्नुपरेको उहाँको दुखेसो थियो ।

“मसँग बन्धकीमा राख्न जग्गा, गरगहना वा कुनै चलअचल सम्पत्ति नभएकाले काम गरेर ऋण तिर्छु चामल दिनुस् भन्दा नमानेर बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो”, भिखनले भन्नुभयो । नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको उहाँले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएको, विपन्नताका कारण साहुसँग ऋण लिएको ५०/५० किलो चामलबापत लामो समयसम्म इँटाभट्टामा काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै थप काम गर्न साहुले दबाब दिँदै आएको उहाँहरुको भनाइ थियो । ऋण चुक्ता नभएसम्म बन्धकीमा राखिएको नागरिकता फिर्ता नगर्ने भन्दै साहुले सबैलाई फर्काउने गरेको अर्का स्थानीय ५० वर्षीय अच्छेलाल सदाले जानकारी दिनुभयो ।

साहु कहाँ नागरिकता बन्धकीमा राखेपछि अहिले उहाँहरुको परिवारमा नागरिकता आवश्यक पर्ने अन्य काम पनि रोकिएका छन् । “पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ”, दशन सदाको श्रीमती फुलो सदाले भन्नुभयो, “वडाध्यक्षबाट नागरिकताको सिफारिस गराएर सबै कागजात लिई पटक–पटक इलाका प्रशासन कार्यालय बोदे बर्साइन पुगेँ । पतिको नागरिकता नल्याएसम्म हुँदैन् भनेर फर्काइदिएका छन् ।” एकातिर पतिको नागरिकता बन्धकीमा रहेको भन्दै आफ्नो नागरिकता पनि बनाउन समस्या भइरहेको उहाँले दुखेसो पोख्नुभयो ।

ऋण लिएबापत पतिले बन्धकीमा राख्नुभएको नागरिकता माग्न पटकपटक साहु कहाँ धाउँदै आए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको फुलोले बताउनुभयो । “नागरिकता फिर्ताको लागि कि पूरै ऋण चुक्ता गर कि त मेरो इँटाभट्टामा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएको छ”, उहाँले भन्नुभयो, “तत्काल ऋण चुक्ता गर्ने पैसा छैन् । म बिरामी रहेकाले काम गर्न सक्ने अवस्था छैन् । निकै अप्ठ्यारोमा परेका छौँ ।”

बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि नागरिकताको प्रतिलिपी बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा भएकाले सम्भव नभएको अच्छेलाला सदाले बताउनुभयो । “नागरिकताको प्रतिलिपी बनाउन पहिलाको नागरिकता नम्बर, जारी मिति चाहिन्छ”, उहाँले भन्नुभयो, “वडाध्यक्षले प्रतिलिपी सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउन भन्नुहुन्छ । मसँग नागरिकताको फोटोकपी पनि छैन । नम्बर र जारी मिति पनि याद छैन ।” प्रमाण जुटाउन नसक्दा प्रतिलिपी समेत बन्न नसकेको उहाँको दुखेसो थियो ।

नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुगेको भन्दै राज्यका हरेक सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको उनीहरुको गुनासो थियो । आर्थिक अवस्था कमजोर भएका यहाँका हरवाचरवा सदा परिवारले पहिचानविहीनताको अवस्थाबाट न्याय दिलाइदिन सबैसँग आग्रह गरेका छन् ।

सदा समुदायका व्यक्तिको नागरिकता बन्धकी राखिएपछि उत्पन्न समस्यालाई गम्भीररुपमा लिएको भन्दै नागरिकता फिर्ताका लागि आफूहरुले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सहजकर्ता नरेशकुमार सादले बताउनुभयो ।

‘द फ्रिडक फण्ड’को सहयोगमा केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रका दलित हरवाचरवा परिवारका लागि नागरिकता, जन्मदर्तालगायत काममा अभियान सञ्चालन गर्दै आएको छ । दलित बस्तीका परिवारलाई लक्षित गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले जानकारी दिनुभयो । यहीँ कार्यक्रमअन्तर्गत सदा परिवारको नागरिकता सम्बन्धी समस्या समाधानको पहल भइरहेको उहाँको भनाइ थियो ।

डाक्नेश्वरी–३ का वडाध्यक्ष भागेश्वर यादवले ऋणबापत नागरिकता बन्धकीमा राखेको विषयमा आफूलाई पनि जानकारी रहेको बताउनुभयो । मुसहर समुदायका व्यक्तिले बन्धकीमा राखेको नागरिकता फिर्ता गराउनका लागि आफू पहल गर्न तयार रहेको उहाँको भनाइ थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।