जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

तनहुँ, २४ मङ्सिर : व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।

सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । पढाईसँगै उहाँले सीपमूलक तालिम पनि सिक्नु भएको छ । पञ्चेबाजाअन्तर्गत उहाँले अहिले मज्जाले ढलाकी बजाउन सिक्नुभएको हो । विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्र्तगत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उहाँ ढलाकी बजाउन निपूर्ण बन्नु भएको हो ।

“सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ”, उहाँले भन्नुभयो, “प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।” लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल बन्नुभएको छ । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भन्नुभयो, “सुरुमा डर लागे जस्तो भएपनि अहिले मज्जाले बजाउन सकिन्छ ।’

विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक धु्रव भण्डारीले जानकारी दिनुभयो । पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ । उहाँले भन्नुभयो, “वाद्यबाजन र पञ्चे बाजा बजाउनसके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन् ।”

विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, ब्रतवन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ । विद्यालयमा बाद्यबाजनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिनुभयो ।

समाजमा चलिआएका पुख्र्याैली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ । परियार समुदायले बजाउने पुख्यौली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले विस्थापित हुदै गएको छ । पुख्र्यौली सम्पत्तिको संरक्षण एवं सम्बद्र्धन गर्न पनि विद्यालयले यसलाई प्राथामिकता दिएको हो ।

कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उहाँको भनाइ छ । विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने, दिक्क अनुभव गर्ने र पढाईमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको प्रधानाध्यापक कोइरालाले बताउनुभयो । “नाचगानलगायत सीपमूलक शिक्षा प्रदान गर्न थालेसँगै विद्यार्थीहरु उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्”, उहाँले भन्नुभयो ।

“सीप सिकेका विद्यार्थीले आफूभन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदाबहार जीवन्तता दिन लागिएको छ ।” कक्षा १० मा अध्ययनरत विद्यार्थी एसइईपश्चात् अर्को विद्यालयमा जानुअघि सिकेको सीप आफूभन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ ।

विद्यालयको भावि योजनामा प्लाम्बिङ र वाइरिङलगायतका सीपमूलक र आयआर्जनमूलकसम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिक पनि वाद्यवादन बजाउन, गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन् ।

कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ । समयको मागसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै आएको सो विद्यालयले जनाएको छ । दलित, जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्य रहेको यस विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।