मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’

वालिङ (स्याङ्जा), २५ मङ्सिर ः गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् । वैदेशिक रोजगारी वा सहर झर्ने प्रचलनलाई पाखा लगाउँदै नाति नातिनालाई साथमै लिएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन प्रदान गर्नु यहाँको विशेषता हो ।

गाउँमा रहेका १८ घरधुरीलाई समेटेर ‘पित्लेक देउराली सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन गरेका यहाँका बासिन्दाले आफ्नो भाषाशैली तथा संस्कृतिलाई जोगाइराख्नका लागि नयाँ पुस्तालाई अभिप्रेरित गर्दै आएको घरबास (होमस्टे) का अध्यक्ष भुपेन गुरुङले बताउनुभयो ।

“हाम्रो संस्कार संस्कृतिको संरक्षण त्यतिबेलामात्रै हुन्छ जतिबेला नयाँपुस्तालाई हस्तान्तरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नका लागि गाउँमै रहेका ज्येष्ठ बुवाआमाले आफ्ना नातिनातीनालाई प्रशिक्षण दिए, जसको फलस्वरुप ससाना भाइबहिनी नाचगान तथा वाद्यवादन गर्नसक्ने भएका छन् ।”

विशेषगरी गुरुङ समुदायमा प्रचलित रहेको मारुनी तथा ख्याली नाँच र त्यसमा प्रयोग हुने बाजा बजाउन युवा पुस्तालाई सिकाउने गरी प्रशिक्षण दिइएको अध्यक्ष गुरुङले बताउनुभयो । उमेरले चार बीस पुग्नुभएका स्थानीय नैनाबहादुर गुरुङ तथा ७१ वर्षीय बौबहादुर गुरुङ आफँै सहभागी भई नातिनातीनालाई मारुनी, ख्याली तथा वाद्यवादन सिकाउनुभएको हो ।

गाउँमा आउने पाहुनाहरुलाई अन्य गीत सङ्गीतभन्दा पनि आफ्नै मौलिक कलासंस्कृति प्रदर्शन गर्नसकेमा संस्कृति संरक्षण हुने देखेर प्रशिक्षण गरिएको घरबासका सचिव तिलक गुरुङले बताउनुभयो ।

हजुरबुवा, हजुरआमा तथा नातिनातीनाहरु एउटै मञ्चमा उपस्थित भई नाच गान गर्दाको क्षण साँच्चिकै त्यहाँ पुग्ने पाहुनाका लागि निकै मनमोहक र रोमाञ्चक देखिन्थ्यो । एकहत्तर वर्षीय बौबहादुर गुरुङ आफँै मादल बजाउँदै बडो फुर्तिलो तरिकाले नाँच्दै नयाँ पुस्तालाई सिकाउँदै गर्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि संस्कृति संरक्षणमा अन्तरमनैदेखि चासो छ । आफ्ना बाउबाजेबाट सिकेको सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिएन भने कुनै दिन हाम्रो संस्कृति लोप भएर जानसक्ने भएकाले नयाँ पुस्तालाई मारुनी नाँच संरक्षणमा सहभागी गराइएको बौबहादुर गुरुङले बताउनुभयो ।

“मारुनी नाच रामायण र कृष्ण चरित्र कथामा आधारित रहेर नाँच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताले पनि सक्रियताकासाथ सिकिरहेका छन्, अहिले पाहुनालाई तिनै नाच सांस्कृतिक कार्यक्रममा देखाउने गर्छौं ।”

आफ्ना हजुर बुवा हजुरआमाहरुसित सँगै एउटै मञ्चमा सिक्दै नाँच्न पाउनु आफूहरुका लागि गौरवको कुरा भएको रोजिना रानाले बताउनुभयो । हजुरबुवा, हजुरआमाहरुसित नाँच्दै गाउँदै गर्दा मारुनी र ख्यालीसम्बन्धी गाउन र नाच्नसक्ने भएको उहाँको भनाइ थियो ।

यहाँ २०६८ सालदेखि पाहुना राख्न थाले पनि २०७६ सालमा विधिवत्रुपमा दर्ता गरी घरबास सञ्चालनमा आएको रोजिनाको भनाइ थियो । स्याङ्जाको वालिङ बजारबाट झण्डै सात किलोमिटरको दूरीमा पर्ने पित्लेक डाँडामा अवस्थित छ पित्लेक देउराली सामुदायिक घरबास (होमस्टे) । अधिकांश गुरुङ र केही मगर समुदायको बसोबास रहेको पित्लेक वालिङ बजारबाट सबैभन्दा नजिकको दूरीमा रहेको घरबास हो । पहाडको टाकुरामा रहेको पित्लेक सांस्कृतिक, पर्यटकीय एवं कृषिका लागि प्रचुर सम्भावना भएको गाउँ पनि हो ।

गुरुङ तथा मगर समुदायको पोशाकमा लामबद्ध भई गाउँमा आएका पाहुनालाई फूलमाला तथा अबिरद्वारा स्वागत गर्न त्यहाँका आमाहरुलाई भ्याइनभ्याइ हुन्छ । पाहुनाहरुलाई पारिवारिक वातावरणमा स्वागत सत्कार तथा बसोबासको व्यवस्था मिलाइने भएकाले पनि कतिपय बिदाइका क्षण नरमाइला हुने गरेको स्मरण स्थानीय ज्येष्ठ नागरिक महेश गुरुङले बताउनुभयो । ।

“देश तथा विदेशबाट आएर यहाँ बस्ने पाहुना घरपरिवारकै सदस्य जस्तै भएर बस्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “बिदाइ गर्ने दिन घरकै सदस्यलाई पठाएजस्तो हुँदा नरमाइलो पनि हुनेरहेछ ।” यो घरबासमा साठी जनासम्मको आवास सुविधा रहेको छ । पहाडको टाकुरामा रहेकाले पनि यहाँबाट अन्यत्रका धेरै ठाउँसहित मनमोहक हिमदृश्य सजिलै देख्न सकिन्छ । वालिङ बजारबाट केही कालोपत्रै र केही कच्ची सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । यहाँसम्म पुग्ने कच्ची सडक कठिन र ग्रेडिङ नमिलेको उकालो भएकाले यसको स्तरोन्नतिका लागि स्थानीयले माग गरेका छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।