पाथीभराको विकास निर्माणमा पहल गरिदिन आग्रह

ताप्लेजुङ, २९ मङ्सिर : पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ ।

गृहजिल्ला आउनुभएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको हो ।

पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकखण्डको स्तरोन्नतिलगायतका निर्माणकार्य चाँडो सम्पन्न गराउन आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकको कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा करिब ११ प्रतिशतमात्र काम सकिएको छ । निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन नसकेको हो । कन्ट्रेक प्रालि काठमाडौँले उक्त सडक निर्माणका लागि २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने जनाएको थियो ।

उक्त सडकको काम समयमै नहुँदा पाथीभरा क्षेत्र विकास समितिले जिल्लास्थित सरोकारवालासँग हारगुहार गर्दै आएको छ । यता पाथीभरा क्षेत्रमा खानेपानी, विद्युत् र इन्टरनेटसहितका दूरसञ्चार सेवासमेत प्रभावकारी नहुँदा समस्या भोग्दै आउनुपरेकाले उक्त समस्या सम्बोधनका लागि समितिले भट्टराईसँग अनुरोध गरेको छ । हाल लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना सञ्चालनमा आए पनि विद्युत्का कारण नियमित भइरहेको छैन ।

यसअघि मङ्सिर १५ गते पाथीभरा क्षेत्रको समग्र समस्या समाधान र विकासका लागि समितिले सर्वपक्षीय अनुगमन र समीक्षा कार्यक्रम गरेको थियो । उक्त अनुगमनपछि भएको समीक्षा बैठकको निर्णयबारे समेत भट्टराईलाई जानकारी गराइएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो ।

यसैबीच समितिसँगको छलफलका क्रममा भट्टराईले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा मुख्य योगदान पुर्याउँदै आएको धार्मिक क्षेत्र पाथीभराको समग्र विकासमा पहिल्यैदेखि पहलकदमी गर्दै आएको र वर्तमान आवश्यकताअनुसारका कार्यमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले यसअघि निर्माण सकिएका योजनाको मर्मतसम्भारसहित नयाँ आवश्यकताका योजनामा सम्बन्धित पक्षसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो । समितिका पदेन सदस्यसमेत रहनुभएका भट्टराईले पाथीभरा क्षेत्रमा कुनै विकास निर्माणको अभाव र कमी हुन नदिने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।