पुग्न गाह्रो म्याग्दीको भाले बास्ने ताल

गलेश्वर (म्याग्दी), ४ पुस : राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा समेत चर्चित म्याग्दीको भाले बास्ने ताल अहिले पुग्न र देख्न पनि गाह्रो भएको छ ।

लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकमा सोधिने उक्त ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर ‘म्याग्दी जिल्ला’ भनिए पनि म्याग्देलीहरूकै लागि भने यो ताल लोपोन्मुख सम्पदा हुन लागेको छ ।

मालिका गाउँपालिका–६ को दुखुबेँसीमा पर्ने यो ताल तीन वर्षअघि दुखुखोलामा आएको बाढीले पुरिएर साँघुरिएको छ । जङ्गल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने ठाउँमा यो ताल खुम्चिएको छ । स्थानीयवासीमा यो तालमा अझै पनि बिहान–बिहानै कुखुराको भाले बास्छ भन्ने विश्वास छ ।

मालिका गाउँपालिका–६ मा पर्ने दुखुबेँसी गाउँ र मङ्गला गाउँपालिका–२ मा पर्ने सहश्र्रधारा गाउँबाट यो ताल भएको क्षेत्रमा पुग्न सकिन्छ । घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेकोे छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ । झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका गाउँपालिका–६ निवासी देवी पुनले बताउनुभयो ।

यो ताल नेपालको आकर्षक तालको सूचीमा समेत रहे पनि दुर्गमस्थल स्थानीय निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । पछिल्लो समय त ताल भएकै ठाउँ वरिपरिको जङ्गलमा पुग्दासमेत देख्न कठिन हुन थालेको दुखुबेँसीका युवा प्रितम पुनले बताउनुभयो । “स्थानीय निकायले यो ताल संरक्षणमा ध्यान दिन नसके यो ताल लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जङ्गली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी नभएको स्थानीय बासिन्दाले बताए ।

ताल अवलोकन गर्न स्थानीयवासीको सहयोगमा रासस प्रतिनिधि ताल नजिकको जङ्गल र तालको सिरानमा रहेको मन्दिरमा पुग्दा स्पष्टसँग ताल देखिएन । ताल भएको ठाउँ (दुखु झरनाको पुछार) पहरामा जोखिम मोलेर मात्र पुग्न सकिने स्थानीयवासी तिजा पाइजाले बताउनुभयो । जङ्गलको बीचमा जङ्गली जनावर प्रशस्तै थिए । मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।

दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन् । बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएछन् । सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ । ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइसमेत थियो ।

बेनीबाट बेनी–दरवाङ सडकखण्डअन्तर्गत पर्ने सहश्र्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट यो ताल पुग्न सकिन्छ । बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहश्र्रधारा पुगिन्छ । त्यहाँ केही समय आराम गरी स्थानीय युवाको पहलमा निर्मित बाटोबाट तालमाथिको जङ्गलसम्म पुग्न सकिन्छ । नियालो र घाँसको सहायतामा आवतजावत गर्नुपर्ने हुन्छ । दरवाङको दुखुबेँसी त्यहाँ पुग्ने छोटो दूरीको मार्ग रहेको स्थानीयवासी तिलु पुर्जाले बताउनुभयो ।

जङ्गलभित्र रहेका नियालोको सहारामा तालभन्दा माथि पर्ने जङ्गलसम्म पुगे पनि ताल भएको ठाउँमा भने जान सकिँदैन । केही साहसी व्यक्तिहरू नियालोलाई डोरी बनाएर तालसम्म पुग्छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अस्तित्व सङ्कटमा पारिदिएको छ ।

भाले बास्ने तालको संरक्षणका लागि गाउँपालिकाले पहल गरिरहेको वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार खोलामा आएको बाढीले तालको धेरै भाग पुरिएकाले ताललाई टाढाबाट देख्न नसकिएकामा तालसम्म पुग्ने गोरेटो बाटो निर्माण गर्न वडाले पहल गरिरहेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।