‘सीप छ, मूल्य छैन’

डुम्रे (तनहुँ) : तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त हुनुहुन्छ । आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पूर्खौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले बताउनुभयो ।

खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पाल्नुभएको छ । मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उहाँले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताउनुभयो । डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उहाँले सुनाउनुभयो ।

फुलमायाले भन्नुभयो, “हामीले पूर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ । महिलाले डालो, सोली बुन्छौँ । पुरुषले ठूलो भकारी बुन्छन् । हामीले बुन्ने बाँसका सामग्री चाहीँ छोरा मान्छेले बुन्दैनन् ।” यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पु¥याउने गरिएको उहाँले बताउनुभयो ।

रू दुई सय घनमा बाँस किनेर सामग्री बनाउँदै आएको फुलमायाले जानकारी दिनुभयो । “ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ । बाँसको घनअनुसार सामान बनाउने हो”, उहाँले भन्नुभयो ।

फुलमायाका अनुसार रू एक सय २० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ । “पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो । अचेल पहिलाको जस्तो किन्दैनन्”, उहाँले भन्नुभयो, “यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ ।”

यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फुलमायाले अनुभव सुनाउनुभयो । “अहिले छोराहरुले रोजगारी गर्छन् । आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ । सीप त छ तर बजार र मूल्यको समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।

यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताउनुभयो । “पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन् । तुलनात्मक रुपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ”, उहाँले भन्नुभयो, “हामीले ठूला सामान बनाउछाँैं । महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ ।”

बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ । “किनेर बनाउनु पर्ने भएकाले महङ्गोमा बेच्दा बिक्री हुदैन । कम मूल्यमा बेच्दा सीप र मेहनत अनुसारको लागत उठ्दैन”, उहाँले भन्नुभयो ।

सामान कम मूल्यमा बेच्दा सीपको मूल्य नपाएको फुलमायाको गुनासो थियो । उहाँले भन्नुभयो, “बाँसको मूल्य तिर्छौँ । हामीले सीपको मूल्य पाएका छैनौंँ ।” यहाँका साना बच्चाबच्चीले पनि बाँसका सामग्री बुन्न जानेका छन् । यहाँका बालबालिकालाई परम्परागत सीप सिक्न प्रोत्साहन गरिँदै आइएको उहाँको भनाइ थियो ।

“पछि काम नै नपाएर खानलाउन समस्या हुँदा यही सीपको सदुपयोग गर्न सकिन्छ भनेर बच्चादेखि नै सीप सिकाउछौँ । सीप जानेपछि नयाँ प्रविधिको प्रयोग गरेर सामग्री बनाउन र आम्दानी गर्न सकिन्छ”, फुलमायाले भन्नुभयो । उहाँका अनुसार यहाँका करिब ५०÷६० घरपरिवारले बाँसको सामग्री बनाउने गरेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । परम्परागत तथा पूर्खौली पेसा र सीपको विकास भने गर्न सकेको पाइदैन । पूर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै सङ्कटमा पर्ने अवस्था आएको छ । बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवद्र्धन गर्न नसक्दा स्थानीयवासी मारमा पर्ने गरेका छन् ।

बजारमा रू पाँच–सात सयमा बिक्री हुने सामग्री स्थानीयवासीले बढी समय र मेहनत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ । किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पूर्खौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरुको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।