पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा, ७ पुस : पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ सुरु गरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् ।

एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गअन्तर्गत चार लेनको पुल र पाँच सय मिटर पहुँचमार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि पूर्वीनाकाको सौन्दर्यकरणमा कसैले ध्यान नदिएपछि स्थानीयको पहलमा अभियान थालिएको अभियानका संयोजक विजय डालमियाले बताउनुभयो । नाका व्यवस्थित, सफा, सुन्दर र पर्यटकमैत्री हुनुपर्दछ भन्ने उद्देश्यले नागरिक स्वस्फूर्तरुपमा काँकडभिट्टाको सौन्दर्यकरण अभियानमा होमिएका उहाँले जानकारी दिनुभयो ।

अभियानमा सामाजिक सङ्घ संस्था, व्यवसायी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी, राजनीतिकर्मी, स्थानीयलगायत अभियानमा सहभागी भएका डालमियाले बताउनुभयो । अभियानले पहिलो चरणमा पूर्वीनाकामा रहेको मेची पुलदेखि एसियाली राजमार्गको पहुँचमार्गअन्तर्गत आसपासका क्षेत्रमा सरसफाइ र सौन्दर्यकरणका विभिन्न काम गर्ने योजनाअनुरुप अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

“जोकोही पर्यटक नेपाल भित्रिदै गर्दा सबैभन्दा पहिला अब नेपाल प्रवेश गर्दैछु र नेपाल साह्रै सुन्दर देश हो भन्ने अनुभूति गर्न सकोस्”, अभियन्ता दीपक पोखरेलले भन्नुभयो, “यसका लागि नाका सफा, सुन्दर र राष्ट्रिय पहिचानयुक्त हुनुप¥यो । हामी अभियानमार्फत नियमित सरसफाइ कार्यक्रम गर्नेछौँ । सडकका दायाँबायाँका भित्तामा चित्रकला सजाउनेछौँ । खाली जमिनमा फूलसहित बगैँचा बनाउनेछौँ ।”

सुरुमै महँगो काम नसोचिएको र सानासाना कामबाट नाकालाई मनमोहक र हेरुहेरु लाग्ने गरी कार्यक्रम अघि सारिएको जनाउँदै पोखरेलले पुरानो मेची पुल पार गर्ने बित्तिकै दोबाटोमा रहेको ‘कर्नर आइल्यान्ड’लाई सुन्दर बगैँचामा रुपान्तरण गरिने जानकारी दिनुभयो ।

पूर्वीनाकाको प्रवेशद्वारमा टाढाबाटै देखिने गरी अग्लो राष्ट्रिय झण्डा राखिने र सडकका भित्तामा राष्ट्रिय गौरव झल्किने चित्रकला बनाइने अभियानले जनाएको छ । अभियानले नाकाको सौन्दर्यकरण कार्यक्रममा मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय र सुरक्षा निकायसँग समन्वय गरिरहेको अभियान्ता पोखरेलले बताउनुभयो ।

भारत सरकारले एसियाली राजमार्गअन्तर्गत चार लेनको मेची पुल र नेपालतर्फ पाँच सय मिटर लामो छ लेनको फराकिलो सडक गत वर्ष नै निर्माण गरेको हो । यस राजमार्ग म्यान्मा र बङ्गलादेश हुँदै भारतको पानीटङ््याकी सीमाबाट नेपालको काँकडभिट्टा नाका प्रवेश गर्दछ । पहुँचमार्गमा सडक कालोपत्रे, रात्रि बत्ती र फुटपाथ रेलिङ निर्माण गरिए पनि सडकको बीचमा रहेको लेन छुट्याउने भाग र वरपरको खाली ठाउँमा सौन्दर्यकरण गर्ने कार्य नभएकाले थानीयवासीको पहलमा काम थालिएको संयोजक डालमियाले बताउनुभयो ।

हाल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मेची भन्सारको आ–आफ्नै चेकजाँच टोली बस्दै आएको छ । सुरक्षाकर्मी र पर्यटकका लागि निर्मित अपाङ्गमैत्री शौचालय, खानेपानीको धारा र कोरोनाकालीन अस्थायी होल्डिङ सेन्टर बेवारिसे अवस्थामा छन् । खानेपानीको आधा दर्जन धारा, पिउने पानीको स्वच्छताका लागि जडान गरिएका अत्याधुनिक प्रशोधन उपकरण र आधुनिक शौचालय प्रयोगविहीन बनेका छन् । पानी फिल्टर गर्ने मेसिनमा खिया लाग्न थालिसकेको छ भने अपाङ्गमैत्री भनिएको शौचालयमा सिँढी राखेर उक्लिन नसकिने बनाइएको छ ।

एसियाली राजमार्गको पहुँचमार्ग निर्माणपछि नाकाको पुराना संरचना सबै भत्काइएकाले नेपाली भूभागको पहिचानका लागिसमेत नाकामा राष्ट्रिय पहिचानको झल्को दिने नयाँ संरचना निर्माण गरिनुपर्ने अभियन्ता राजु कार्कीले बताउनुभयो ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारती, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्य, वडाध्यक्ष ललित तामाङ, पूर्वमेची यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतलाई अभियानका योजनाबारेमा थप जानकारी दिन आज स्थलगत अवलोकन गरिएको छ ।

नाकालाई व्यवस्थित र सौन्दर्यकरण गर्ने अभियान सकारात्मक रहेको जनाउँदै इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक भारतीले आफ्नो तर्फबाट सहयोग रहने बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।