बालबालिका र बूढापाकाले धानेको गाउँ रायडाँडा

डम्मर बुढा मगर/ढोरपाटन (बागलुङ), १० पुस : अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ ।

दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए । जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले । हरेक वर्ष बजार झर्नेको सङ्ख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ । गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ । नजिकै स्वास्थ्य चौकी र आँगनै अघि गाडी गुड्छन् । सुविधा घरको आँगनमै पुगे पनि गाउँलेको बजार मोह घटेको छैन ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट विसं २०५८ मै रायडाँडा जोड्ने सडकको काम सुरु भयो । विसं २०६० मा रायडाँडासम्म गाडी पुग्यो । सडक पुगेको धेरै वर्षसम्म स्थानीय गाउँमै बसे पनि अहिले अधिकांश बागलुङ बजारमा बस्ने गर्छन् । रायडाँडा बागलुङ नगरपालिकाको सबैभन्दा टाढा र दुर्गमको वडा हो । यहाँ अहिले विकासले गति लिन थालेको छ । भौगोलिक हिसाबले जैमिनी नगरपालिकासँग नजिक पर्ने भए पनि रायडाँडालाई बागलुङ नगरपालिकामा गाभिएको छ । रायडाँडा साबिक गाविस थियो । स्थानीय तह स्थापनापछि रायडाँडालाई एउटै वडा बनाइएको छ । बर्सेनि बसाइँसराइले गर्दा रित्तिएको गाउँका घरहरु मक्किन थालेका छन् । अहिले केही बालबालिका र बूढापाका मात्रैले गाउँ धानेका छन् ।

उत्पादनका हिसाबले उर्वर ठाउँ भए पनि बढ्दो बसाइँसराइका कारण काम गर्ने जनशक्ति घट्दै गएका छन् । युवा शक्ति विदेश पलायन र हुनेखाने बजार झरेपछि यतिबेला रायडाँडामा सामान्य वर्गमात्र रहेका छन् । बसाइँसराइ गरेर बजार झरेका पनि बेलाबेला गाउँ जाने गरे पनि खेतबारीमा खेतीपाती भने गर्दैनन् । सीमित किसानले मात्रै खेती किसानी गर्दा गाउँमा उत्पादन कम भएर भोकमरी निम्तिने जोखिम बढेको स्थानीय दुर्गाबहादुर थापाले बताउनुभयो । पहिले–पहिले गाउँमा वरपर काम गर्ने छरछिमेकी पाइने, कुनै पनि जग्गा जमिन खाली नहुने भन्दै अहिले खेतीयोग्य जमिन सबै वनमाराले ढाकिँदै गएको गुनासो उहाँले पोख्नुभयो । दुई दशक पहिले गाउँमा कुनै विकास नभएको बेला बसाइँसराइ शून्य रहेको स्मरण गर्दै अहिले बस्तीनै रित्तिँदै गएको थापा बताउनुहुन्छ ।

“पहिले गाउँमा विकास थिएन, मान्छे थिए, अहिले गाउँमा विकास आयो, मान्छे बजार झरे, अब गाउँ घर त हुँदाखाने र गरिब जनताको मात्रै हुने भयो, मान्छेले खेती गर्न छोडे, बजारबाटै चामल, पीठो लिएर खान्छन्, पहिले गाउँमा मकै, कोदो निकै उत्पादन हुन्थ्यो, अहिले उत्पादन घटेर कम भएको छ, वर्षभरि खान पुग्दैन,” थापाले भन्नुभयो, “यस्तै हुँदै गयो भने त भोकमरी आउने जोखिम बढ्यो, अहिले बारी हेर्न गयो भने बैराग लाग्छ, हाम्रो पालामा गाउँ घर कति रमाइलो थियो, मान्छेको चहलपहल थियो, अहिले केही छैन, सबैलाई बजार चाहिने, विदेश नै जानुपर्ने, यही हिसाबले बसाइँसराइ हुँदै गयो भने अबको १० वर्षमा गाउँमा कोही पनि रहने छैन ।”

स्थानीय ओमबहादुर केसी गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको बताउनुहुन्छ । पहिले जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उहाँको भनाइ छ । विकास गाउँ उक्लने, मानिसहरु सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको केसीले बताउनुभयो । गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा बागलुङ बजारमै पुग्नुपर्ने भन्दै सरकारले गाउँमा सेवासुविधा थपे मात्रै बसाइँसराइ रोकिने उहाँको भनाइ छ ।

केसीले भन्नुभयो, “मान्छेको चहलपहल भए पो जङ्गली जनावर गाउँ पस्दैन, मान्छे सबै बजार झर्न थालेपछि गाउँ सुनसान हुन थाल्यो, सुनसान भएपछि बाँदर गाउँ आउन थाले, अहिले गाउँमा बूढाबूढी मात्रै छन्, सरकारले गाउँमा बजारको जस्तो सेवासुविधा दिने गरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सके मात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र भने बाँदर मात्रै होइन, अब गाउँ जङ्गली जनावरको बासस्थानका बन्छ, अहिले गाउँमा खेतीपाती गर्ने किसान अर्को वर्ष यहाँ भेटिँदैनन्, कोही बागलुङ बजार, कोही चितवन कोही पोखरा जान्छन् ।”

बागलुङ बजारबाट रायडाँडासम्म पुग्ने सडक पनि जोखिमपूर्ण छ । दुई दशकपहिले ‘ट्र्याक’ खुलेको सडक अहिले पनि साँघुरो र खाल्डाखुल्डी परेको छ । जसले गर्दा यात्रा निकै कष्टकर हुने गरेको छ । सडक अप्ठ्यारो हुँदा २० किलोमिटर सडकमा यात्रा गर्न दुई घण्टा बढी लाग्छ । रायडाँडाबाट अघिल्लो वर्ष करिब १६ र चालु वर्ष आठ घर परिवार बसाइँसराइ गरेर अन्तै गएको वडा कार्यालयले जनाएको छ । सडकको दुरावस्था र गाउँमा स्वरोजगारको अवसर नहुँदा धेरै स्थानीय बसाइँसराइ गर्छन् । बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले गाउँलाई राष्ट्रिय सडकसँग जोड्न नसक्दा र एसियाली विकास बैङ्कले समयमै काम नगर्दा पछि पर्नु परेको बताउनुभयो ।

एसियाली विकास बैङ्कले २० वर्षअघि खुलेको सडक पाँच वर्षअघि नै स्तरोन्नति गर्ने भनेको थियो । तर अहिलेसम्म प्रक्रिया पूरा हुन नसकेको उहाँको भनाइ छ । रायडाँडाबाट बसाइँसराइ रोक्नका लागि गाउँमै रोजगार सिर्जना गर्ने र स्थानीयलाई उत्पादनसँग जोड्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

“भूगोलका हिसाबले पहिलेदेखि नै अलि पछाडि परेको क्षेत्र भएको हुँदा विकास ढिला भयो, अहिलेका हरेक नागरिकले प्रतिफल छिटो खोज्ने गर्छन्, पहिलेको तुलनामा विकास धेरै भएको छ, गाउँका मान्छेलाई गाउँमै रोक्ने धेरै प्रयास गरिरहेका छौँ,” अध्यक्ष गौतमले भन्नुभयो, “अब युवा शक्तिलाई लक्षित गरी स्वरोजगार कार्यक्रम गर्नुपर्ने छ, सडकका कारण उत्पादनले बजार पाउन सकेको छैन, अब सडकको अवस्था पनि सुधार गर्ने चरणमा छौँ, अबको केही वर्षमा बसाइँसराइ रोकिने विश्वास लिएका छौँ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।