उद्यौलीमा रमाउँदै पूर्वका किरात समुदाय

दमक (झापा), १० पुस : किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी यसवर्ष पनि भव्य रुपले मनाउन जुटेका छन् । किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् ।

किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उद्यौली सुरु हुने किरात इतिहासका अध्येयतासमेत रहेका किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष हरि चोङबाङले जानकारी दिनुभयो । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गर्दछन् ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसितिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको चोङबाङको भनाइ थियो ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःखयीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको जिल्लास्थित चुम्लुङका अध्यक्ष शेसेहाङ फियाकले बताउनुभयो ।

आफूले लगाएको बालीनाली पाकेपछि माङलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा मानिएको यस चाडमा सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिआएको उहाँको भनाइ थियो ।

“लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनुअघि लिम्बूका आदिम पूर्खा सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे । जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराइदिएको भन्ने किबदन्ती छ”, शेसेहाङ फियाकले भन्नुभयो ।

पर्वका अवसरमा किरातजन्य सङ्घ संस्थाले आफ्ना सघन बसोबास भएको स्वदेशका मूलत कोशी प्रदेशभरि र विदेशमा विशेष उत्सवका साथ मनाउँदै आएका चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताउनुभयो । आदिमकालदेखि यी समुदायले प्रकृतिको पूजा गरी यो चाडलाई सारा पृथ्वीजगतको रक्षार्थ कामनाका साथ सामूहिक रुपमा पूजाआजा गर्नुका साथै आफना सांस्कृतिक कला प्रस्तुत गरी मनोरञ्जन गरेर मनाउने गरिआएको उहाँको भनाइ थियो ।

प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने र उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिएको अध्यक्ष एक्तेन बताउनुभयो । यसैक्रममा आज झापाको १५ वटै पालिकामा लिम्बू समुदायले आ–आफना ठाउँमा धुमधामका साथ चासोक तङनाम (न्वागी पूजा) मनाउने तयारीमा रहेको चुम्लुङ झापाले जनाएको छ ।

दमक र कमल शाखाले कमल पाँच सावित्रा चौकस्थित आदिवासी रङ्गशालामा वृहत चासोक कार्यक्रम राखिएको चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले बताउनुभयो । चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विधिपूर्वक पूजाआजा गर्नुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको समेत साङ्गीतिक प्रस्तुति रहने छ ।

साथै बुद्धशान्तिमा पाँच दिने चासोक मेला लागेको छ भने शिवसताक्षीका विभिन्न चार स्थानमा एकैसाथ भव्य रुपले चासोक कार्यक्रमको तयारी तीव्र पारिएका छन् । चासोक तङनाममा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।