भोजपुरमा यसरी सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला

टक्सार (भोजपुर) १४ पुस : किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मङ्गलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय भेला भएर किराती पुर्खा÷धामीले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने गरिन्छ । केटाकेटीदेखि बुढाबुढीसम्म गाउँदै नाच्दै गर्ने परम्पराले उधौली साकेलाको रौनक बढ्दै गएको छ । किरात राई समुदाय मात्र नभई यतिबेला गैरकिरात पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेको किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताउनुभयो ।

“पछिल्लो समय उधौली साकेला नाच सबै समुदायको पर्वका रुपमा स्थापित हुँदै गएको छ, यसमा किरात राईहरू मात्र नभई गैरकिरात समुदायले पनि मनोरञ्जनात्मक नाचको रूपमा लिने गरेका छन्”, कार्यवाहक अध्यक्ष राईले भन्नुभयो । पछिल्लो पुस्तामा आएर सबै गैरकिरातका लागि भातृत्व झल्काउने उत्सवका रूपमा पनि साकेलालार्ई लिने गरिएको छ । यसरी अरू समुदायका मानिसले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव बढ्दै गएको उहाँको भनाइ छ ।

वर्षको दुईपटक मनाइने साकेला उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन छ । उधौली र उभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

छिटको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक भेषभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवती सहभागी भएर साकेला सिली नाच्ने प्रचलन रहँदै आएको जानकारको भनाइ छ ।

उधौली पर्व किरातको संस्कृतिलार्ई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजङ्ग राईको धारणा छ । उहाँका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व पुर्खा र जङ्गली पशुपंक्षी लेकदेखि बेंसीतिर झर्ने समय भएको सङ्केत गर्ने तथा अन्नबाली भित्रयाएको खुसीयालीमा मनाउने गरिन्छ ।

ढुङ्गेयुगमा किराती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।