काठमाडौं देखि दार्चुला सम्म काजुका बिरुवा पुर्‍याएर चर्चामा आएका पथरीका भुवनेश्वर पोखरेल

प्रेम केडी,मोरङ- पथरी-शनिश्चरे नगरपालिका-३ मोरङका भुवनेश्वर पोखरेललाई हिजोआज मोबाइलमा दैनिक एक सयजति फोन आउँछ।

फोन गर्नेहरूले सोध्छन् – काजुको बिरुवा छ?

भए छ भन्छन्। हुर्किँदै छ भने ‘केही समयपछि आउनू’ भनी जवाफ फर्काउँछन्।

पोखरेललाई पूर्वदेखि पश्चिम महाकालीको दार्चुलासम्मबाट फोन आउने गरेको छ। उनले काठमाडौंदेखि दार्चुलासम्म काजुको बिरुवा पुगिसकेको बताए। काठमाडौंमा दुई-तीन सयजति पुर्‍याएको उनले बताए।

नेपालमा काजु खेतीको सम्भावना के छ त्यो रहस्यको गर्भमै छ। तर, यी अवकाशप्राप्त शिक्षकलाई मानिसले खोजीनिती गर्नुको कारण चाहिँ त्यही काजु खेतीले हो।

उनले आफ्नो घरमा काजुका बिरुवा उमारेका छन्। तिनै बिरुवा किन्नका निम्ति मानिसहरू फोन गरिरहन्छन्।

उनले सात-आठ वर्षअघि भारतको चारधाम घुम्न जाँदा १५० रुपैयाँ भारुमा एउटा काजुको बिरुवा लिएर आएका थिए।

त्यो बिरुवा बारीमा रोपे। त्यसले चार-पाँच वर्षपछि काजुको फल दिन थाल्यो। त्यही फलबाट उनले अन्य चार वटा बिरुवा हुर्काए। अहिले ती रुखबाट पनि काजु फल्न थालेको छ।

‘यसपालि १०-१५ किलोजति फल्यो,’ पोखरेल भन्छन्, ‘कति त खाइयो, धेरैजसो फलबाट बिरुवा उमारें।’

ती उमारेका बिरुवा उनले एक सय रुपैयाँ प्रतिगोटा बेच्ने गरेका छन्। ‘काजुको बिरुवा पाइन्छ भनेपछि मानिसहरू फोन गरेर मागेको मागै गर्छन्,’ उनी भन्छन्।

भारतमा काजुको खेती निकै छ। त्यो काजु नेपालमा आइपुग्दा महंगो पर्छ। नेपालमै काजु फलाउन सके युवाहरूले आम्दानी गर्नसक्ने धारणा उनको छ। ‘त्यही भएर मैले सस्तोमै काजुको बिरुवा बेचिरहेको छु,’ उनले भने, ‘मैले आम्दानीको लागि बिरुवा बेचिरहेको छैन, यसबारे अध्ययन अनुसन्धानपछि नेपालमा खेती गर्ने वातावरण मिलोस् भन्ठानेको छु।’

उनले फलाएको काजुको दाना निकाल्न तातो पानीमा तीन घन्टा उमाल्नुपर्छ। त्यसलाई दुई-तीन दिन सुकाउनुपर्छ। त्यसपछि फुटाएर बोक्रो फुटाएर गुदी निकाल्ने गरिएको छ।

त्यसरी निकालेको गुदी प्रशोधित वा भनौं बजारमा पाइने काजुकै स्वादमा पाइन्छ। घरमा आउने मानिसहरूलाई उनले त्यही काजु चखाउने गरेका छन्। चाख्नेहरू दंग पर्दै एउटा बिरुवा किनेर जाने गरेका छन्।

‘विदेशतिर काजुको फल निकालेर सिधै प्रशोधन गर्ने मेसिन हुन्छ,’ पोखरेल भन्छन्, ‘हाम्रो नेपालमा काजु खेती नै छैन, त्यस्तो उपकरण कहाँ होस् र!’

पोखरेलले काजुका बिरुवा गाउँ-गाउँमा पुर्‍याइरहेको थाहा पाएर कोशी प्रदेश सरकारका कृषिमन्त्री केही समयअघि उनको घरमा पुगेका थिए। उनले काजु खेतीको सम्भाव्यता हेरेर यसको प्रशोधन गर्ने उपकरणबारे खोजी गर्न सकिने बचन दिएका थिए।

पोखरेलले हालसम्म एक हजार भन्दाबढी बिरुवा ठाउँ-ठाउँमा पुर्‍याइसके।

एमएसम्म पढेका पोखरेलले काजु खेतीबारे सामान्य अध्ययन गरेका छन्। उनकै अनुसार काजु समुद्र सतहदेखि १ हजार ६०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ।

काजुका लागि फराकिलो जमिन चाहिन्छ। ठूलो रुख बनेपछि काजुले अत्यधिक फल दिने उनी बताउँछन्।

‘काजु बरको रुखजस्तो हाँगाबिँगा फैलिन्छ, मैले भारतमा त्यस्तै देखेको हुँ,’ उनी भन्छन्, ‘कालो, बालुवा र ढुंगा मिसिएको माटो पायो भने काजुको बोट सप्रिन्छ।’

एउटा हुर्किएको बोटले दुई लाख रुपैयाँसम्मको काजु फल दिने उनको दाबी छ। एउटा बोटले पचास वर्षसम्म फल दिने उनले बताए।

पाँचथरको मेलबोटेमा जन्मिएका पोखरेल इलाम हुँदै २०३५ सालमा मोरङ पथरी आएका हुन्। उनका दुई छोरा काठमाडौं र एक छोरा पथरीमा छन्।

उनी श्रीमती अम्बिकासँग घरमै बसेर काजुका बिरुवा हुर्काइरहेका छन्। उनी २०५४ सालमा विद्योदय निमाविबाट रिटायर्ड भएका थिए। उनले ३३ वर्ष सरकारी विद्यालयमा पढाए।

जीवनको उत्तरार्दधमा उनी काजुका बिरुवाले चर्चित छन्। केही पत्रकारहरूले उनको घरमा काजुको बिरुवा पाइन्छन् भनेर प्रचार-प्रसार गरिदिएपछि उनलाई फोन अत्यधिक आउन थाल्यो। फेसबुक म्यासेन्जरमा समेत उनलाई फोन गरेर सोध्नेहरूको जमात छ।

‘बुढेसकालमा रहर लागेर काजु ल्याएर हुर्काएँ, यसले फल दिन थालेर बिरुवा उमारें,’ उनले भने, ‘फोन आएर हैरान हुन्छु।’

उनले नेपालमा काजु खेती हुन्छ भन्ने सन्देश आफूले दिन सकेको बताए। ‘नेपालमा डाँडाकाँडादेखि लिएर फराकिला जमिन छन्, कतिपय ठाउँ बाँझै छन्, काजु खेतीबारे सम्भाव्यता अध्ययन गरे विदेश गइरहेका युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिन्छ भन्ने मेरो सोचाइ हो।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।