काठमाडौँ महानगरको ‘एकल सेवा केन्द्र’ बाट एकद्वार सेवा प्रवाह सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ ।

महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन लिनु पर्ने, त्यसका आधारमा सेवा प्राप्त गर्ने विद्युतीय प्रक्रिया अगाडि बढ्ने भएकोले एकद्वार भनिएको हो । निजामती सेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस लिन आउनु भएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन वडा नं. ३२ बाट आउनु भएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवा सुरु गरिएको थियो । उहाँहरुले टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिइसक्नुभएको थियो । दिवसका अवसरमा पारेर आयोजना हुने कार्यक्रम परम्परागत ढाँचाका हुने अभ्यासलाई चिर्दै महानगरपालिकाले सेवा शुभारम्भ गरेको हो । 

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा जानकारी गराएका थिए । यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । 
‘एकल सेवा केन्द्र’ पहुँचयुक्त, पारदर्शी र उत्तरदायी सेवाको आधारभूत पूर्वाधार हो । शुभारम्भपछि अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता हो । यससँगै महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवा दिनु हाम्रो कर्तव्य हो । केन्द्र यसका लागि स्थापना भएको हो । केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितका योजना क्रमशः कार्यान्वयन गर्दै जानेछौँ ।’

‘केन्द्र इगभर्नेन्सको व्यवहारिक प्रयोग हो ।’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने,  नागरिकका घरदैलोमा उत्तरदायी सरकार भएको अनुभूति गराउने प्रयास हो ।’ सेवाग्राही सर्वेक्षणको प्रसङ्ग जोड्दै उनले भनिन्, ‘गएको साउनमा सेवाग्राही सर्वेक्षण गरेका थियौँ । सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा गर्नुभएको छ । सर्वेक्षणमा सहभागीमध्ये धेरै स्नातक तह वा सोसरहको शैक्षिक उपाधि प्राप्त गर्नुभएका सेवाग्राही हुनुहुन्थ्यो । उहाँहरुले दिनुभएको सुझावका आधारमा गएको वर्ष जारी गरिएको एकल सेवा केन्द्र सञ्चालन कार्यविधिका आधारमा सेवा थालेका हौँ ।’ 

महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन । प्रवक्ता मानन्धरले भने, ‘प्रविधिका ज्ञान हुनेले प्राविधिक साधन तथा उपकरणको सहयोग लिएर यसमा ज्ञान नहुनेले डेस्कका कर्मचारीबाट जानकारी लिएर सेवा लिन सक्नुहुनेछ ।’
केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ । स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. भन्छन्, ‘सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनु पर्ने बवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नुहुनेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’ 

निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफीको प्रबन्ध केन्द्रका सुविधा हुन् । 

केन्द्रबाट प्रवाह हुने सेवाहरु
एकल सेवा केन्द्र सञ्चालन कार्यविधिले सेवा लिन आउने सेवाग्राहीलाई एकद्वार प्रणालीबाट सेवा दिने व्यवस्था गरेको छ । जसअनुसार केन्द्रबाट सेवाग्राहीलाई आतिथ्यता प्रदान गर्ने र माग भएबमोजिमका सेवाका विषयमा जानकारी प्रदान गरिनेछ । आवश्यकता अनुसार परामर्श र सेवामा सहजीकरण गरिनेछ । सूचना अधिकारी एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य कार्यविधिका व्यवस्था उधृत गर्दै भन्छन्, ‘आवश्यकताअनुसार टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराइनेछ । विद्युतीय माध्यमको प्रयोग गरेर सम्भव भएसम्म छिटो सेवा प्रदान गरिनेछ । कुनै कारणले समय लाग्ने भएमा कति समय लाग्छ, भन्ने सम्भावित समयमा विषयमा जानकारी गराइनेछ ।’

कर्मचारी सम्बन्धी व्यवस्था
अधिकृत स्तर सातौँ वा आठौँ केन्द्रको प्रमुख हुनेछ । केन्द्रमा एक जना महिलासहित २ जना अधिकृत स्तर छैटौँ तहका जन सम्पर्क अधिकृत हुनेछन् । नर्सिङ् सेवासमेत उपलब्ध गराउन सक्ने मनोसामाजिक परामर्शदाता १ जना, महानगर प्रहरी बलबाट नगर प्रहरी नायव निरीक्षक १ जना र श्रेणीविहिन ३ जना कार्यालय सहयोगी हुनेछन् । 
केन्द्रसँग सम्बन्धित गुनासो सम्बोधन गर्न र कार्य सञ्चालनमा देखिएका समस्या समाधान गर्न प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख स्तरको कर्मचारीलाई नोडल अधिकृत तोक्न सक्ने व्यवस्था छ ।

सेवाग्राहीले सेवा लिने माध्यमहरु
सेवाग्राहीहरुले कार्यालयमा आफैँ उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, महानगरपालिकाको वेभसाइट वा मोवाइल एप्लिकेसनमा दिएका निर्धारित विकल्पको प्रयोग गरेर र कार्यालयका औपचारिक सामाजिक सञ्जालहरुको माध्यम प्रयोग गरेर सेवा लिन सक्नेछन् ।

भौतिक रुपमा उपस्थित हुने सेवाग्राहीले कार्यालय समयमा र विद्युतीय माध्यमबाट सेवा लिन चाहनेले जुनसुकै समयमा पनि सेवाको माग गर्न सक्नुहुनेछ । यसरी सेवा माग गर्दा नाम थर र ठेगाना, सम्पर्क मोवाइल नम्बर, माग गरेको सेवा सम्बन्धी पूर्व निर्धारित फाराम भए त्यसै अनुरुप र नभए आफूले प्राप्त गर्न चाहेको सेवा उल्लेख गर्नुपर्छ । 

प्राथमिकता
तत्काल सम्बोधन नगरिए महानगरपालिका वा सेवाग्राहीलाई गम्भीर असर पर्ने खालका मागलाई पहिलो प्राथमिकतामा राखिनेछ । उच्च महत्व दिएर कारवाही अगाडि बढाउनु पर्ने सेवालाई अति जरुरी, प्राथमिकतामा राखेर कारवाही अगाडि बढाउनु पर्ने सेवालाई जरुरी र प्राथमिकतामा राखिरहनु नपर्ने क्रमशः सम्बोधन गर्दै लैजानु पर्ने सेवालाई सामान्यमा राखिनेछ । 

सेवा उपलब्ध गराउने प्रक्रिया 
सेवा माग गर्ने व्यक्ति वा संस्थाको विद्युतीय अभिलेखबाट दर्ता नम्बर सिर्जना गरिनेछ । लिखित रुपमा सेवा माग गरिएको भए सोको पहिलो पाना स्क्यान गरेर विद्युतीय माध्यमबाट सम्बन्धित विभागमा पठाइनेछ । यसरी विद्युतीय माध्यमबाट पठाइएका सक्कल कागजपत्र विभागमा पठाइनेछ । 

यसरी पठाइएको विभागका बारेमा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । अति गोप्य र गोप्य भनेर आएका मागका सन्दर्भमा बाहिरी विषयलाई अभिलेख गरेर सम्बन्धित विभागमा पठाइनेछ । 

सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेभ पेजबाट हेर्न सक्नेछन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।