हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् ।

पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न अनुमति दिए सटर बन्द गरेर महानगरपालिकामा चाबी बुझाउने चेतावनी दिए । ‘सुन्दैछु यसपालि पनि यहाँ ८ दिन मेला लाग्दैछ रे । यसमा हाम्रो विरोध छ । अन्य खाली ठाउँमा लगाउँदा हुन्छ तर यहाँ लगाउने विषयमा हाम्रो विरोध छ,’ शर्माले भने, ‘व्यापार नभएर हामी त्यसै तनावमा छौं । अझै एकहप्तासम्म पूरै सडक ढाकेर मेला लगाउँदा सटर बन्द गरेर हामी घर बस्दा हुन्छ ।’

शर्माले शनिबार एकदिन फुटपाथमा सामान बिक्री व्यापारीलाई नदिने निकायले रोडै ढाकेर मेला र महोत्सव लगाउन दिन नहुनेमा जोड दिनुभयो । गत वर्ष नै अबदेखि हिमालय रोडमा मेला लगाउन नदिने सहमति भएको स्मरण गर्दै उनले भने, ‘यसपटक फेरि लगाउने हल्ला सुन्दैछु । यहाँ मेला लगाउने विषयमा हाम्रो गम्भीर आपत्ति र विरोध छ । गत वर्ष पनि मासु र विभिन्न परिकारको गन्धले पसलमा बस्नै समस्या भएको थियो ।’ शर्माले जनताको समस्या सुन्ने कोही नभएको पीडा पोखे । ‘यो रोडमा अहिलेको संरचना बनेपछि हामी कति समस्यामा छौं भन्ने कुरा त हामीलाई मात्रै थाहा छ,’ उनले थपे, ‘अझ सडक बन्द गरेर महोत्सव गर्दा हाम्रो हालत के होला । म त भन्छु यो सडक श्रापित सडक हो ।’

व्यापारी शर्मिला मैनालीले अन्य खाली ठाउँमा मेला लगाउन सुझाव दिनुभयो । उहाँले महानगरले मेला र महोत्सव लगाउन अनुमति दिन नहुनेमा जोड दिनुभयो । ‘बाटो भनेको हिंड्नका लागि हो । अहिले त एकतर्फबाट मात्रै सवारी चलाउन पाइन्छ । अहिलेको संरचना बनेपछि व्यापारमा ६० प्रतिशत गिरावट आएको छ,’ उनले भनिन्, ‘हाम्रो आवाजलाई सम्बन्धित निकायले सुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

अर्का व्यापारी सुदर्शन बरालले हिमालय रोडमा मेला लाग्दैछ भनेर सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको सुनाए । उनले कसैलाई पनि समस्या नहुने स्थानमा मेला गर्न आग्रह गरे । उनले हिमालय रोडमा मेला लगाए आफूहरू आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । ‘त्यसै पनि व्यापार छैन । त्यसमाथि सडक नै ढाकेर मेला लगाइयो भने त्यसले हाम्रो व्यापार पूर्ण रुपमा बन्द हुन्छ,’ बरालले थपे, ‘खाना महोत्सव भएकाले पकाएका खानाको गन्धले पसलमा बस्नै नसक्ने अवस्था आउँछ ।’
सो ठाउँमा मञ्जिना मुभिज क्रिएसनले आगामी असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव आयोजना गर्दैछ । क्रिएसनले केही दिनअघि पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको थियो ।

बरालले आयोजकलाई अन्य ठाउँमा लगेर महोत्सव गर्न आग्रह गरे । अर्का व्यवसायी खेमराज ढुंगानाले पीडामा रहेका व्यापारीलाई महोत्सवले झनै पीडा दिने प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रै चिनेजानेका भाइभतिजहरूले मेला गर्दैछन् तर यो मेला यहाँ नभएर कसैलाई डिस्टर्भ नहुने स्थानमा आयोजना गर्दा राम्रो हुने थियो । पक्कै पनि हाम्रो समस्या आयोजक र सम्बन्धित निकायले सुन्नेछ ।’

व्यापारी पप्पु देवले सार्वजनिक रोडमा मेला गर्न नहुनेमा जोड दिए । आफूहरूको जीविकोपार्जन व्यापारबाटै भइरहेकाले मेलाले बिक्रीवितरणमा समस्या हुने उनको भनाइ थियो । अर्कातिर मेलामा फोहोर हुनुका साथै हल्ला हुँदा स्थानीयलाई निकै समस्या हुने देवले बताए । गत वर्षको मेलाभरि आफूले १ सयको पनि बिक्री नगरेको उनले स्मरण गरे ।

‘अघिल्लो वर्ष पनि मेला आयोजना गरिएको थियो त्यतिबेला दिनमा एक सयको पनि व्यापार भएको थिएन । बिहान–बिहान पसल खोलेर दिउँसो बन्द गरेको थिएँ,’ देवले भने, ‘अब त त्यस्तो समस्या नहोला भनेको फेरि पनि मेला आयोजना हुँदैछ भन्ने सुन्दैछु ।’ पसल बन्द गरे पनि सरकारलाई तिर्नुपर्ने कर, बैंकको ब्याज, बिमा, कर्मचारीको तलब, बिजुली बत्ती, खानेपानीलगायतको खर्च नरोकिने उनको भनाइ छ । उनले भने, ‘म हात जोडेर बिन्ति गर्छु, यो रोडमा कुनै मेला र महोत्सव नलगाइयोस् । हाम्रा पीडालाई सबैले सुनिदिनोस् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।