साफ महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौ । साफ महिला च्याम्पियनसिपमा घरेलु टाेली नेपालले आज श्रीलंकासँग खेल्दैछ ।
नेपाल र श्रीलंकाबीचकाे खेल काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ सुरु हुनेछ । आजकाे खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने नेपालकाे लक्ष्य छ ।
समूह ‘बी’ मा रहेकाे नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियाे भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० गाेल अन्तरले पराजित गरेकाे थियाे । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको श्रीलंका दोस्रो खेलमा भुटानसँग ४-१ को हारेको थियो ।
समूह ‘ए’ बाट बंगलादेश र भारत अन्तिम चारमा प्रवेश गरिसेका छन् । पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ ।
नेपाल र श्रीलंकाकाे खेलअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान खेल्नेछन् । याे खेल पनि दशरथ रंगशालामै हुनेछ ।


