पूर्वराजासँग दुई घन्टा ‘छलफल’पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!

काठमाडौं – ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा ‘नागरिक जनविद्रोह’ घोषणा गर्ने तयारी गरिएको छ।

महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी गरिएको छ। ती जिल्लाबाट प्रतिनिधिमुलक रूपमा मानिसहरू काठमाडौं आएको र उनीहरू उक्त कार्यक्रममा सहभागी हुने महाभियानका प्रवक्ता माधव कल्पितले बताए।

प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग झण्डै दुई घण्टा लामो छलफल गरेको दाबी कल्पितले गरे। उक्त भेटपछि प्रसाईंले पत्रकार सम्मेलन आयोजना गर्दै आगामी रणनीतिबारे जानकारी गराएको दाबी कल्पितको छ।

उक्त पत्रकार सम्मेलनमा राजसंस्था पुन:स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीसहित अन्य राजावादी नेताहरू पनि सहभागी थिए।
प्रसाईंको नेतृत्वमा राष्ट्रवादी संगठन तथा राजावादी पार्टीहरूले ऐक्यवद्धता जनाउने प्रतिबद्धता जनाएको कल्पितले बताए।

सोही क्रममा प्रसाईंलाई चैत १५ गतेको ‘आन्दोलनको जनकमाण्डर’ घोषणा गरिएको छ।

चैत १५ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउन विभिन्न जिल्लाबाट राजधानी काठमाडौंमा सहभागीहरू ल्याइने तयारी छ। प्रसाईंको गृह जिल्ला झापाबाट चार वटा बसमा मानिसहरू काठमाडौं आइसकेको बताइएको छ।
उक्त दिन राजतन्त्र पुन:स्थापनाका लागि ‘नागरिक जनविद्रोह’ घोषणा गरिने छ।

‘उक्त घोषणामा राजनीतिक दलहरूलाई २४ घण्टादेखि सात दिनभित्र राजसंस्था पुन:स्थापनाको लागि निर्णय लिन अल्टिमेटम दिइने छ,’ कल्पितले भने।

यदि सो अवधिमा पूर्वराजा ज्ञानेन्द्रलाई पुन: राजगद्दीमा नबसाइए सशक्त ढंगले आन्दोलन गर्ने चेतावनी दिइएको छ।

आन्दोलनलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने योजना रहे पनि, यदि कुनै किसिमको हस्तक्षेप भएमा प्रतिक्रियात्मक क्रियाकलापसमेत हुनसक्ने प्रसाईंको महाअभियानको चेतावनी छ।

अभियानले राष्ट्रवादी नागरिक, युवापुस्ता, बेरोजगारीको चपेटामा परेका व्यक्तिहरू र राजतन्त्रवादीहरूलाई स्वतःस्फूर्त रूपमा सहभागी हुन आह्वान गरेका छन्।

राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चैत १ गतेदेखि राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि बृहत् राष्ट्रवादी जन–आन्दोलन सुरू गरिसकेको छ।

राप्रपाको आन्दोलनसँग प्रसाईंको अभियानको मोडेलमा केही समानता देखिए पनि दुवै पक्ष फरक-फरक रणनीतिसहित अगाडि बढिरहेको देखिन्छ।

बिहीबारको पत्रकार सम्मेलनमा राप्रपा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र वर्तमान राप्रपा महामन्त्री धवलशमशेर राणासमेत उपस्थित थिए। सो पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने थिएनन्।

लिङ्देनले चैत २५ गतेबाट आफ्नै नेतृत्वमा राजसंस्था पुन:स्थापनाको आन्दोलन सुरू गर्ने मंगलबार पार्टीमा निर्णय गराएका थिए।

प्रसाईंको आन्दोलनलाई लिएर राजावादी समूहभित्र नै मतभेद देखिएको भने छ।

केही राजावादी नेताहरूले प्रसाईंको नेतृत्व स्वीकार गरेका छैनन् भने कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले नै यस अभियानलाई बेवास्ता गरेको दाबी गरेका छन्।

राजतन्त्र पुन:स्थापनाका पक्षधरहरूले चैत १५ गते हुने प्रदर्शनलाई निर्णायक मोड मानिरहेका छन्।

यो आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी घटनाक्रममा निर्भर गर्ने छ।

चैत १५ गते नै गणतन्त्रवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादीलगायत पार्टीले) राजधानीमा प्रदर्शन गर्दैछन्।

प्रहरी-प्रशासनले प्रसाईं नेतृत्वको आन्दोलनको कार्यक्रम तीनकुने र गणतन्त्रवादी शक्तिको आन्दोलनलाई भृकुटीमण्डपमा सीमित गर्ने तयारीअनुसार ठूलो संख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।