बार्ता र संबादवाट एनआरएनमा एकता कायम गर्न आरके शर्माको अपिल

काठमाडौँ,  २८ चैत ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले  बद्री केसी समूहलाई  वार्ता र संवादद्वारा संस्थामा एकताको वातावरण बनाउन पहल गर्न अपिल गरेका छन्।

केसी समूहले  गत मङ्गलवार एक इमेल पठाउँदै  अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्पूर्ण सल्लाहकार, पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं अन्य पदाधिकारीहरू लगायत एनआरएन अभियन्ताहरूलाई  १६ अप्रिलभित्र काठमाडौँ आइपुग्न सूचना गरे पछि अभियन्ता शर्माले त्यस्तो अपिल गरेका हुन्।
 
एनआरएनए उच्चस्तरीय समितिले  मे महिनाको ३,४ र ५ मा काठमाडौँमै एकताको महाधिवेशन गर्न लागेको सन्दर्भमा त्यसलाई नै लक्षित गरेर केसीले आफू निकटस्थलाई काठमाडौँ बोलाएका हुन्  ।

“मैले गत महिना युरोपमा पुग्दा बद्री केसीजी र साथीहरूलाई अप्रिल महिनाको पहिलो साता काठमाडौँमा भेट्न अनुरोध गरेको थिएँ।  अहिले अप्रिल महिनाको दोस्रो साता उहाँहरू काठमाडौँमा भेला हुन लागेको थाहा पाउँदा यसलाई मैले सकारात्मक रूपमा लिएको छु,” शर्माले भने।  
 
भौतिक रूपमा नेपालमा उपस्थितिका लागि अनुरोध गरिएको पत्रमा गैर आवासीय नेपाली संघमा हाल सिर्जना भएको जटिल परिस्थिति तथा यसको निकासको उपायहरू पहिचान गर्न तथा संघले उठान गर्दै आएका विभिन्न मुद्दा एवं विषयवस्तुहरूमा प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री आरजु राणा, गृह मन्त्री रमेश लेखक, कानूनमन्त्री अजय चौरसियालाई भेटेर छलफल गर्ने उल्लेख छ ।
 
यस्तै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल पनि गर्ने भनिएको छ ।
 
“हामीले पटक पटक राजनीतिक नेतृत्व तथा मन्त्रीज्यूहरुलाई भेट्दै आएका छौँ।  त्यसमा खासै आपत्ति छैन।  तर समस्या हामी भित्रै रहेकाले संघभित्रै बृहत् छलफल गरेर एकताको वातावरण बनाउन  म सबै साथीहरूलाई आग्रह गर्दछु,” शर्माले भने।

अभियन्ता शर्माले संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायत उच्चस्तरीय समितिका १३ जना पदाधिकारी सहभागी भएर बैठक गरी समस्याको निकास निकाल्न पनि आग्रह गरे। 

“माननीय परराष्ट्र मन्त्रीज्यूले बोलाएको बैठकमा सहभागी हुने तर सम्मानित सर्वोच्च अदालतले गठन गरेको र आफै सदस्य रहेको उच्चस्तरीय समितिको बैठकमा सहभागी नहुने कुरा तर्कसङ्गत छैन।  त्यसैले  उच्चस्तरीय समिति सहित सबै पक्षधर अभियन्ता साथीहरू सहभागी बृहत् बैठक पनि गरौँ र सघन छलफल गरौँ।  त्यसो भयो भने कुन मितिमा महाधिवेशन गर्ने भन्ने विषयमा पनि  सर्वोच्च अदालतले दिएको म्यान्डेट पालना गर्ने गरी निकास निकाल्न सकिन्छ,”  शर्माले भने।
 
अभियन्ता शर्माले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक पत्राचार गर्दा पनि संघको सचिवालय उपलब्ध नगराइएकोमा दुख व्यक्त गरे।  उनले सर्वोच्चको निर्देशन बमोजिम उच्चस्तरीय समितिलाई एमआइएस प्रणाली लगायत सचिवालयमा  पहुँच दिन आग्रह गरे। 

यसबाट वातावरण सहज हुने र निकास निकाल्न पनि मदत पुग्ने उनले बताए।

“एउटा सामाजिक संस्थामा सधैँ भरि लडाई झगडा गर्दा कसैलाई पनि फाइदा छैन।  यसले संस्थाको साख ध्वस्त हुने स्थिति बनेको छ।  त्यसैले आआफ्नो इगो र स्वार्थ भन्दा माथि उठेर संस्थाको गरिमा र संसारभरिका  एनआरएनहरूको हितलाई केन्द्रमा राखेर वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन म सबै साथीहरूलाई आग्रह गर्दछु,” शर्माले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।