झापामा श्रीमतीसँग भेटिएको पुरुषको हत्या
झापा । झापाको मेचीनगरमा श्रीमतीसँग भेटिएको पुरुषको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले आफ्नो श्रीमतीसँग भेटिएका एक जना पुरुष हत्या गरेको झापा प्रहरीले जनाएको छ ।
ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।उनका अनुसार बुधबार राति ज्ञवालीले आफ्नी ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदलाई भेटेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मोहमदको घटनास्थलमै मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजतालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।-बेतना दैनिक


