भ्रष्टचारमा मुछिएका लेखापाल जोगाउन पालिका कार्यालयमा आगजनी र लुटपाट

सञ्जय मिश्रा, रौतहट।   रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाट निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई जोगाउने योजनाअन्तर्गत योजनाबद्ध रूपमा गरिएको खुलासा भएको छ। घटनामा  शिक्षकद्धय सुबोध यादव , रबिन्द्र यादव र दुईजना वडा अध्यक्षहरुको  प्रमुख भूमिका रहेको प्रमाण बाहिर आएको हो।

प्रमुख जिल्ला अधिकारी (सिडियो) विनोद कुमार खडकाको नेतृत्वमा गरिएको स्थलगत अनुगमनमा स्थानीयले उक्त घटनाबारे प्रत्यक्ष बयान दिएका थिए।

प्रत्यक्ष संलग्नता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका निलम्बित लेखा अधिकृत नवीन यादवलाई जोगाउन वडा  ८ का अध्यक्ष नितेश चौधरी, वडा  ९ का अध्यक्ष राकेश यादव (पप्पु)  शिक्षक सुबोध यादव, र शिक्षक रविन्द्र यादव प्रत्यक्ष संलग्न रहेको तथ्य सार्वजनिक भएको छ। उनीहरूले जनतालाई उचालेर नगरपालिका कार्यालय, स्वास्थ्य तथा शिक्षा शाखा र मेयर बस्ने कोठासम्ममा तोडफोड, आगजनी र लुटपाट गरेको स्थानीयले बताए।

योजनाबद्ध भेला
२४ भदौमा सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादव र माबी दुधिअवाका शिक्षक रबिन्द्र यादवको सल्लाहमा निलम्बित लेखा अधिकृत नवीन यादवले दुई वडा अध्यक्षसहित आफ्ना समर्थकलाई मावि बिजयपुरमा भेला गरी मासु–रक्सी खुवाएर करिब १५ हजार रुपैयाँ खर्च गरेको खुलेको छ। सोही दिन बेलुकी उनीहरूले “जेन जी आन्दोलन” को नाममा जुलुस निकाली नगरपालिका कार्यालयमा आगजनी र लुटपाट गरेका थिए।

धम्की र आतंक
नगरपालिका घरधनी शम्भु जैसवालले आगो निभाउन खोज्दा वडा अध्यक्षहरूले धम्की दिएको बताए। “देश जलिरहेको छ, धेरै कुरा नगर्नुस्, नत्र तपाईंलाई पनि यही आगोमा फालिन्छ” भन्ने चेतावनी दिएका थिए। मेयरलाई घर भाडामा दिएका रामेश्वर साहका अनुसार, भीडले उनको घर समेत जलाउने तयारी गरेको थियो तर बजारबासीको सम्झाइबुझाइपछि मात्र रोकिएको हो। तर घरका सबै सामान तोडफोड गरेका थिए। त्यस्तै मेयर बस्ने कोठाहरूमा रहेको दराज टेबल कुर्सी लगायत सम्पूर्ण सामान बाहिर निकालेर आगजनी गरेको घरधनी साहले जानकारी दिएका थिए।

भ्रष्टाचार ढाकछोपको प्रयत्न
तत्कालीन लेखा अधिकृत नवीन यादव अख्तियारमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भई निलम्बनमा परेका छन्। एउटै कामको तीनपटक भुक्तानी दिइ अढाई करोड रुपैयाँ बराबरको अनियमितता भएको उजुरी अख्तियारमा दर्ता छ। हालका प्रमुख प्रशासकीय अधिकृत भरत यादवले फाइल अख्तियारमा पठाउन थालेपछि भ्रष्ट पक्षहरूले प्रमाण नष्ट गर्न आगजनी गरेको स्थानीय कार्यपालिका सदस्यहरूको आरोप छ।

करोडौंको क्षति
आगजनी र तोडफोडका कारण नगरपालिका कार्यालय, स्वास्थ्य शाखा र मेयर बस्ने कोठामा रहेका फाइल, कागजात, विद्युत् उपकरण र फर्निचर जलेका वा लुटिएका छन्। प्रमुख प्रशासकीय अधिकृत भरत यादवका अनुसार प्रारम्भिक अनुमानमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

अनुगमन टोलीको निष्कर्ष
अनुगमनमा सिडियो विनोद कुमार खड्का, प्रहरी एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरी एसपी रामहरि अधिकारी, अनुसन्धान एसपी कुमार बुढाथोकी, सेनाका कर्णेल विश्वास विष्ट, कार्यवाहक मेयर अम्बेया खातुन, दलका नेतागण, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए। अनुगमन टोलीले यो घटना साधारण आन्दोलन नभई योजनाबद्ध आपराधिक गतिविधि भएको स्पष्ट देखिएको निष्कर्ष निकालेको छ।

विश्लेषण
स्थानीय निकायको विश्वसनीयता संकटमा: जब निर्वाचित जनप्रतिनिधि नै भ्रष्ट अधिकारीलाई जोगाउन हिंसामा उत्रिन्छन्, त्यसले स्थानीय सरकारको छवि ध्वस्त पार्छ।

जनआन्दोलनको अपहरण: “जेन जी आन्दोलन” को नाममा गरिएको यस्तो कार्यले वास्तविक आन्दोलनलाई दूषित बनाउने खतरा बढाएको छ। सिडियो खड्काले सार्वजनिक सम्पत्ति जलाउने, तोडफोड गर्ने जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन्।

२०७९ सालको स्थानीय निर्वाचनमा फतुवा बिजयपुरमा नेपाली कांग्रेसको वर्चस्व थियो, जसअन्तर्गत मेयर, उपमेयरसहित ११ मध्ये ७ जना वडा अध्यक्ष विजयी भएका थिए। निर्वाचित मेयर गोपाल प्रसाद यादव अख्तियार द्वारा भष्टाचार मुद्दामा दोषी ठहर भएर निलम्बित भएपछी अहिले उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारि सम्भालेकी छिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।