त्यस बखतको “दशै”
सचिन्द्र श्रेष्ठ । विजयदशमी भगवान् रामको विजयोत्सव र राक्षस-देवी युद्धमा देवीको विजयको पर्वका रूपमा मनाउने गरिन्छ। यो शक्तिपूजाको पर्व हो। यसलाई शस्त्रपूजनको पर्व रुपमा पनि मान्ने गरिन्छ।
देवी दुर्गाले महिषासुर राक्षसको वध, चण्डमुण्ड र शुम्भनिशुम्भमाथि विजय प्राप्त गरेको खुसियालीमा मनाउन थालिएको हो। नवरात्र (आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म)भर चलेको यो युद्धमा देवीको विजय भए भएपछि नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ।
विधिवत् रूपमा दसैँ घटस्थापनादेखि मात्र सुरु हुने भए पनि एक महिना पहिलेदेखि चहलपहल सुरु हुन्छ। पहिलेपहिले त नेवारी समाजमा मोहनी नखा: मान्ने चलन थियो। चिउरामासु खाने, टाढाटाढाका आफन्तसँगै बसेर मान्ने थियो।
मोहनी नखा: लागेपछि पाहुना बस्न जान नहुने भन्ने चलन पनि थियो। घरपरिवारसँग नै चुलो छुटेको भए पनि दसैँका बेलासँगै बस्नु र खानुपर्ने चलन छ। दसैँमा ऊ बेला हाम्रा घरसमाजमा नै छुट्टै रौनक देखिन्थ्यो। मिठो खाने खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाऊ टोल सफा सुग्घर राख्ने जस्ता कार्य यही दसैँमा गरिन्थ्यो।
रातो माटोले लिपेका घर होस् या कमेरोले पोतेको घर होस् छुट्टै सफा र एक रूपता देखिथ्यो। टाढा भिर पखेरामा राति नै उठेर रातो माटो,कमेरो लिन जानेको भिड देखिन्थ्यो जसका कारण दसैँ आउन लागेको संकेत प्रष्ट थाहा हुने गर्थ्यो।
अझ भन्नु पर्दा स्कूलमा समेत सबै जना विद्यार्थीहरु मिलेर स्कुलमा समेत लिप पोत गर्ने, रंग लगाउने गरेको हिजो जस्तो लाग्छ। त्यो बेला पढ़ने बेला खुला चौरमा पिङ खेल्दै अलग्गै अनुभव हुने गर्दथ्यो र त्यसबखत ठूलाठूला घर नभएकाले खुला चौरमा गएर चंगा उडाउने र कसको चंगा कहाँसम्म पुग्यो भनेर हेर्ने गरिन्थ्यो। त्यसले छुट्टै मज्जा र चाडपर्व आएको आभाष दिने गर्थ्यो।
यस्तो महान चाड दसैँ आउने स्कूल बिदा दिने हुदा होमवर्कसमेत धेरै शिक्षकले दिने गर्थे। तर छिटो छिटो होमवर्क सकेर खेल्न जाने, डुल्ने भन्ने मनमा कौतूहलता लागेर होला मन नै फुरुङ्ग हुने गर्दथ्यो। तर आजकलको दसैँ सीमित घर र इन्टरनेटको जमानाले गर्दा त्यो खालको रमाइलोपन कताकता कम भएको महसूस हुने गर्दछ। अझै दसैँ नाममा मात्र सीमित देखिन्छ।
गाउँका ती पाखापँधेरा, पखेरा कन्दराहरु, कोट र भञ्ज्याङ्का देउरालीमा त्यो बेला रेडियो नेपालमा गुन्जिने मालश्री धुन टाढाटाढाबाट बजेको सुन्दा नै दसैँ आएको थाहा हुन्थ्यो। गाउँ पूरा रमाइलो नै लाग्थ्यो। बजार सब सुनसान। यसले नै दर्शाउने गर्थ्यो- गाउँमा दसैँ आयो। लाहुरेहरु छुट्टी मनाउन आफ्नो घर आउँदा होस् या सहरमा व्यवसाय गर्ने र पढ्ने विद्यार्थी गाउँ आउँदा नै किन नहोस्।उ बेला दशैं केबल दशैमा मात्र सिमित थिएन, बर्ष भरिको भाईचारा, उत्साह र उमंगको समिश्रण थियो ।
गाउँ नै गाउँको देशमा गाउँलाई राज्यले सधैं उपेक्षा गरेको भन्ने गुनासो भइरहँदा हामी नेपाली मात्रको एउटा मौलिक चाड दसैँले कहिल्यै उपेक्षा गर्न सक्दैन। बजारभन्दा कयौ गुणा बढी आनन्द गाउँमा त्यो बेला हुने गर्थ्यो। समय र आधुनिकीकरणसँगै आजकल यस्ता चाडपर्वको मौलिकता लोप भएकोमा दुःख लाग्दछ।
दसैँको साँस्कृतिक पक्ष पनि छ। बलि दिने, घरमा रहेका धातु फलाम पूजा गर्ने, हिन्दू संस्कृतिमा वीरताको पूजक अनि शौर्यको उपासक पनि रहेकाले हर्षोल्लास तरिकाले मान्ने गरिन्छ। मान्यजनको आशिर्वाद लिने टीकाजमरा थाप्न टाढासम्म पुगेर राती एक्लै बसी कति पैसा उठ्यो भनेर गन्ने गर्दा मन अति खुसी हुने गर्थ्यो। जसले धेरै दिन्छ उसकोमा अर्को दसैँमा टीका लगाउन जाने खालको परिपाटी नै बस्थ्यो। नयाँ कपडा लगाएर आफ्ना वरिपरि साथीसंगी भेट्ने र दसैँमा राम्रो फिल्म लगाउँछ भनेर हेर्न जाने गरिन्थ्यो। आजकल यो सब हराइसकेको छ।
दसैँलाई राष्ट्रिय चाड पनि भन्ने गरिन्छ। हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन बिहान मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेपछि यो क्रमले पूर्णिमासम्म निरन्तरता पाउँछ। कतिपय स्थानमा दशमीका दिन मात्र टीकाप्रसाद ग्रहण गर्ने चलन पनि छ।
सामाजिक, सांस्कृतिक, धार्मिक चाडपर्वले भनेकै आपसी भाइचारा, सद्भाव र सहिष्णुताको प्रतीक हो भन्दा फरक पर्दैन। त्यसैले आपसी रिस-घमण्ड त्यागी परम्परा र संस्कृतिले सिकाएका राम्रा कुरालाई ग्रहण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै महान् चाडको उल्लासमा सहभागी भइरहन सकौँ। दसैँको शुभकामना।


