आगजनी र तोडफोड भएका संरचना हेरेर भक्कानिए मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् ।

तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेका हुन् ।

प्रजातान्त्रिक आन्दोलनको धरोहरका रुपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला भावुक हुनुका साथै भक्कानिएका थिए । उनले निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘यो जलेको घरले देशमा आजको अवस्था ल्याउन अग्रणी भूमिका खेलेको थियो । इतिहासलाई भेट्ने प्रयास गरिएको छ । यो खरानी भएको घर हेर्दा म निकै भावुक भएको छु,’ उनले भने, ‘तर यही खरानीको घरको माटोमा उभिएर भन्छु हामी पहिलाकै अवस्थामा पुग्नेछौं । जेनजीले सोचेजस्तै नेपाल बनाउनेछौं ।’

पिताजी कृष्णप्रसाद कोइरालाले १ सय ८ वर्षअघि निर्माण गरेको कोइराला निवास भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । सोही घरबाट पिताजीले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई फाटेको भोटे पठाएर देश र जनताको अवस्थाबारे जनाकारी दिँदै प्रजातन्त्रका पक्षमा सांकेतिक विद्रोह गरेका थिए ।

मेयर कोइरालाले महानगरको निरीक्षणपछि भौतिक संरचना जले पनि जनताको सेवा गर्ने हिम्मत र साहस नजलेको प्रतिक्रिया दिए । उनले जनताको प्रत्यक्ष पहुँच भएको महानगर जलाएकोमा दुःख व्यक्त गर्दै भने, ‘सम्पूर्ण कागजपत्र जलेका कारण जनताले नै दुःख पाउने अवस्था सिर्जना भएको छ । जे नहुनुपर्ने थियो भयो अब सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

त्यस्तै मेयर कोइरालाले महानगर, वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतको निवाससहित कांग्रेस पार्टी कार्यालयको पनि निरीक्षण गरेका थिए ।

मेयर कोइराला विराटनगर–८ स्थित श्रद्धाश्रम निर्माणका लागि सहयोग जुटाउन अष्ट्रेलिया भ्रमणमा गएका थिए । अष्ट्रेलियामा रहँदा मेयर कोइरालाले एनआरएनएले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनले विराटनगरको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।